समाचार

प्रधानसेनापतिद्वारा ‘अनेकौंका दृष्टिमा राष्ट्र निर्माता’ नामक ग्रन्थको लोकार्पण

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा हरि प्रसाद सोडारीले सम्पादन गरेका ‘अनेकौंका दृष्टिमा राष्ट्र निर्मता’ नामक ग्रन्थको आर्मी अफिसर्स क्लब (सभामण्डप)मा आयोजित कार्यक्रममा लोकार्पण गरेका छन्।

उक्त लोकार्पण कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले स्वागत मन्तव्य राखेका थिए भने ग्रन्थका प्रधान सम्पादक हरि प्रसाद सोडारीले पुस्तकको विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अतुलनीय योगदान रहेको बताउँदै खोजपूर्ण लेखहरु सङ्कलन गरी प्रकासित उक्त ग्रन्थले नेपालको इतिहासको जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरेका थिए ।

साथै उनले नेपाली नागरिकहरुलाई एकीकरण अभियानको भौतिक अनुभूति प्रदान गर्दै राष्ट्रियता र एकता अभिवृद्धि गर्ने अभिप्रायका साथ नेपाली सेनाको पहलतामा एकीकरण मार्ग कार्यक्रम (Unification Trail) अन्तरगत नेपाल एकीकरणका दौरान प्रयोग भएका पदमार्ग तथा एकीकरण अभियानसंग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धनमा टेवा पुर्यााउने लक्ष्यका साथ कार्यान्वयनका लागि व्यापक तयारी शुरु गरेको समेत जानकारी गराएका थिए ।

उक्त लोकार्पण कार्यक्रममा पूर्व मन्त्रीहरु, पूर्व उपकुलपतिहरु, पूर्व आयुक्तहरु तथा सचिवहरु, पूर्व प्रधानसेनापति तथा रथीवृन्दहरु, नेपाली सेनाका वहालवाला रथीवृन्द तथा अधिकृतहरु, पत्रकारहरु लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।