पु.समाचार

राष्ट्रियसभाबाट राजस्व चुहावटसम्बन्धी विधेयक पारित, के छ विधयेकमा ?

काठमाडौं । बिहिबार राष्ट्रियसभाको बैठकले राजस्व चुहावटसम्बन्धी विधेयक पारित गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित भएको हो ।

बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । विषयगत समितिमा भएको छलफल र परिमार्जनलाई स्वीकार्दै विधेयक पारित गरिएको स्रोतले बताएको छ ।

आजकै बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. खतिवडाले ‘रेल वे विधेयक, २०७६’ पनि पेश गरे ।

हालका बौद्धिक संस्थाहरू भिन्न र छुट्टै प्रकृतिका रहेको र संसदीय प्रक्रियाबाट नबनेका हुनाले प्रतिष्ठान विधेयक ल्याइएको उनले जानकारी दिए । कानुनबाट स्थापित हुने प्रतिष्ठान दिगो र परिपूरक भूमिकामा भएकाले यसको सान्दर्भिकता बढ्ने उनले बताए ।

डा. खतिवडाले प्रतिष्ठान विधेयक मुलुकको सामरिक सम्बन्ध, परराष्ट्र नीति र विकाससम्बन्धी कामलाई प्रभावकारी बनाउन पनि उपयोगी हुने विश्वास व्यक्त गरे । राष्ट्रियसभाको अर्को बैठक २७ पुस अपराह्न १ बजे बस्नेछ ।