अन्तर्राष्ट्रिय

निर्भया बलात्कार प्रकरण : दोषी विनयकुमारले गरे फाँसी रोक्न माग

एजेन्सी । भारतको सर्वोच्च चर्चित निर्भया बलात्कार काण्डका दोषी मध्ये एक विनयकुमार शर्माले सर्वोच्च अदालतमा ‘क्युरेटिभ पिटिसन’ (याचिका) दर्ता गराएका छन् । दिल्लीको एउटा अदालतद्वारा ‘डेथ वारेन्ट’ जारी गरेको केही दिनपछि ४ जनामध्येका एक शर्माले याचिकामा फाँसी रोक्न माग गरेका हुन् ।

दिल्लीको पटियाला हाउस कोर्टले ७ जनवरीमा चारै जना दोषीलाई डेथ वारेन्ट जारी गरेको थियो । यद्यपि, अहिलेसम्म सर्वोच्च अदालतको जुन परम्परा रहेको छ, त्यसमा अत्यन्तै कम मामलामा मात्र शीर्ष अदालतले क्युरेटिभ पिटिसनमा आफ्नो फैसला उल्टाएको छ । यस्तोमा दोषीलाई दिइएको फासीको फैसला टार्न गाह्रो देखिन्छ ।

सबै चारै जना दोषीलाई २२ जनवरी बिहान एकै साथ तिहाडको जेल नम्बर– ३ मा एकै पटक फाँसीमा चढाइनेछ । यसका लागि जल्लाद मगाइसकिएको छ ।

कानुनविद् ज्ञानन्त सिंहका अनुसार डेथ वारेन्ट जारी भएपछि पनि अभियुक्तले चाहेमा क्षमा याचिका दायर गर्न सक्छ । यस्तो याचिका दर्ता गर्नका लागि कुनै समय सीमा हुँदैन । यस मामलामा भने अब याचिकाको बाटो बन्द जस्तै देखिएको छ ।