प्रदेश 1

खानेपानीबाट ६ हजार घरधुरी लाभान्वित हुँदै

तनहुँ । भानु नगरपालिका वडा नं ७ ,८ र ९ लाई लक्ष्य गरी खानेपानी वितरण गर्ने उद्देश्यले मस्र्याङ्गदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण तीव्र गतिमा भएको छ । उक्त वडामा पानीको स्रोत नभएपछि बस्तीदेखि करीब तीन किलोमिटर दूरीमा पर्ने मस्र्याङ्दी नदी किनारबाट पानी तान्न लागिएको हो ।

आयोजना सम्पन्न भएपछि तीन वडाका करीब छ हजार घरधुरीका मानिस प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ । आयोजनाको काम शुरु भएसंँगै स्थानीयवासी खुशी हुन थालेका छन् । चितुवाबाट प्रभावित उक्त नगरपालिकाका बासिन्दा साँझबिहान घरदेखि टाढा पुगेर कुवा र खोलाको पानी ल्याउनुपर्ने बाध्यताका कारण त्रसित हुँदै आएका छन् ।

समुद्री सतहबाट करिब दश हजार ३० मीटर उचाइमा अवस्थित गढीमाई मन्दिरसम्म पानी तानी लैजाने योजनानुरुप निर्माण अघि बढाइएको नगरपालिका–८ का वडाध्यक्ष भरतराज ढकालले जानकारी दिएका छन् ।

नदी किनारमा करीब दश मीटर गहिरो इनार खनेर पानी निकालेपछि डेढ लाख लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी तीन ट्याङकीमार्फत प्रशोधन गरेर खानेपानी वितरण गरिने योजना रहेको बताइएको छ । गाउँघरमा खानेपानीको धारा नहुँदा स्थानीयवासी खोला र इनारको पानी प्रयोग गर्न बाध्य छन् ।

उक्त तीन वडामा खानेपानीको समस्यालाई दिगो रुपमा समाधान गर्न गण्डकी प्रदेश सरकारबाट मस्र्याङ्दी लिफ्टिङ खानेपानी आयोजनाका लागि रु २२ करोड विनियोजन भएको छ । चालु आव २०७६÷०७७ मा उक्त खानेपानी आयोजनाका लागि रु चार करोड पहिलो चरणमा विनियोजन भएसंँगै निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ ।

नगरपालिका–९ का वडाध्यक्ष रामकृष्ण देवकोटाले घर नजीक पानीको स्रोत नहुँदा वडाको तेरतेर गाउँका बासिन्दालाई झण्डै एक घण्टा पैदल हिँडेर एक गाग्री पानी ल्याउनुपर्ने अवस्था रहेको बताए । आयोजना सम्पन्न भएपछि नगरपालिकाका तीन वडाका बासिन्दालाई खानेपानी सहज हुने विश्वास गरिएको नगर प्रमुख उदराज गौलीले बताएका छन् ।