पत्रपत्रिका

अमेरिका– ईरान द्वन्द्वको चपेटामा मध्यपूर्वमा रहेका १० लाख नेपाली नागरिक

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन् । ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार उनले नागरिकसित भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’ हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।

यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ । २०७२ पछि सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउन प्रतिबन्ध लगाएपछि श्रम स्वीकृतिबिनै नेपाली महिला तेस्रो मुलुक हुँदै युएईलगायतका खाडी मुलुक जाने गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ । रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक ९युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया० तथा मलेसिया जाने गर्छन् । विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन् । वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन् ।

अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपाली त्रसित बनेको कतारको दोहामा कार्यरत बाग्लुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्कंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँ रहेका नेपाली त्रसित छन् ।’

इरान–इराकमा भइरहेको द्वन्द्व मध्यपूर्वसम्म फैलियो भने एकैचोटि ठूलो संख्याका नेपाली जोखिममा पर्ने भएकाले उद्धारका लागि सरकारी संयन्त्र चनाखो हुनुपर्ने त्यहाँ कार्यरत नेपालीले बताएका छन् । ‘अहिले नै युद्ध हुन्छ वा हुँदैन, केही भन्न सकिँदैन,’ दुबईमा कार्यरत रोल्पा, घर्तीगाउँमा किरण केसीले भने, ‘युद्ध भइहाल्यो भने कसरी उद्धार गर्ने भन्नेबारे ठोस योजना सरकारसँग हुनुपर्छ ।’

कतारस्थित नेपाली दूतावासकी द्वितीय सचिव ऋचा भट्टराईले अहिलेसम्म जोखिम नदेखिए पनि पछिल्लो अवस्थाबारे गम्भीरतापूर्वक नियालिरहेको बताइन्। पछिल्लो समस्यालाई लिएर परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भइरहेको उनको भनाइ छ । खाडीका अन्य मुलुकका तुलनामा कतार–काठमाडौं दैनिक ६ हवाई उडान हुने भएकाले समस्या आइहाले पनि उद्धार गर्न कठिनाइ नहुने अधिकारीहरूको विश्वास छ ।

हाल कतार–काठमाडौँ रुटमा दैनिक कतार एअरवेजले चार तथा नेपाल एअरलाइन्स र हिमालय एअरले दैनिक एकएक उडान गरिरहेका छन्। भट्टराईका अनुसार यतिखेर कतारमा तीन लाख ६३ हजार नेपाली कार्यरत छन् । त्यस्तै नेपाली कामदार धेरै कार्यरत रहेको अर्को गन्तव्य साउदी अरेबिया हो। विभागका अनुसार साउदीमा यतिखेर करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

कुबेतमा ५० हजार, ओमान र बहराइनमा २५र२५ हजार जति नेपालीले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। उता द्वन्द्वग्रस्त मुलुक इराक र अमेरिकी बेस क्याम्प रहेको इजरायलमा १०र१० हजार जति नेपाली रहेको अनुमान छ । विभागले वैदेशिक रोजगारीमा जानेको विवरणमात्र राख्ने तर फर्कनेको विवरण नराख्ने गरेकाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकामध्ये कति गन्तव्य मुलुकमा छन् र कति स्वदेश फर्किए भन्ने यकिन तथ्यांक पाउन कठिन छ ।

लामो समयदेखि वैदेशिक रोजगारीमा गएकामध्ये फर्कनेको पनि विवरण राख्नुपर्ने आवाज उठ्दै आए पनि सरकारले त्यस्तो व्यवस्था गर्न सकेको छैन। विभागका महानिर्देशक भीष्मकुमार भुसाल विभागसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र विवरण हुने बताउँछन् । ‘वैदेशिक रोजगारीमा गएकामध्ये कति फर्किए भन्ने विवरण विभागसँग हुँदैन,’ उनले भने, ‘त्यस्तै प्रतिबन्ध लगाएको मुलुक इराकमा कति नेपाली छन् भन्नेबारे पनि केही भन्न सकिँदैन।’ सरकारले इराक रोजगारीमा प्रतिबन्ध लगाए पनि यतिखेर केही नेपाली त्यहाँ कार्यरत रहेको बताइन्छ। ती नेपाली कसरी इराक पुगे भन्नेबारे केही भन्न नसकिने अधिकारीहरू बताउँछन् ।

इराकमा अमेरिकी र इरानी सेनाबीच भीडन्त भइरहेकाले त्यहाँ रहेका नेपाली सबैभन्दा बढी असुरक्षित बनेका छन्। त्यसैले उनीहरूको सुरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने आवाज उठेको छ । विभागका महानिर्देशक भुसाल विदेशमा रहेका नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयको भूमिका महत्वपूर्ण हुने बताउँछन् ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा रहेका नेपाली असुरक्षित देखिएकाले समस्या समाधानका लागि बिहीबार सरोकारवाला निकायबीच सामूहिक रूपमा छलफल हुने बताए। ‘मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्नेबारे छलफलबाट केही उपाय तय होला भन्ने लागेको छ,’ उनले भने।

       

                                                                                                                                                           नागरिकबाट लिएको