बाग्मती

प्रदेश ३ को राजधानी अधिकांश हेटौँडाको पक्षमा

हेटौँडा । प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा व्यापक छलफल भयो ।

बैठकमा प्रतिवेदनमाथि छलफल होस् भनी संयोजक निरौलाले प्रस्ताव राखेको थियो । छलफलका क्रममा आफ्ना धारणा राख्ने अधिकांश प्रदेशसभा सदस्यले स्थायी राजधानीका लागि हेटौँडा नै उपयुक्त हुने बताएका छन् । काभ्रेका बसुन्धरा हुमागाईंलगायत केही सदस्यले भने राजधानीका लागि काभ्रेपलाञ्चोक नै उपयुक्त हुने धारणा राखेको थियो ।

प्रदेशको १३ जिल्लामध्ये आठ जिल्ला काभ्रेसँग जोडिएको बताउँदै प्रदेशसभा सदस्य हुमागाईंले काठमाडौँबाट नजिक रहेको काभ्रेलाई राजधानी तोक्नुपर्ने बताए । उनले काभ्रेबाट काठमाडौँ आउजाउ गर्न नजिक हुने हुँदा मन्त्री, नेता तथा कर्मचारीलाई आउजाउमा सहज हुने बताए । धारणा राख्ने क्रमको अन्तमा उनले ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’ भन्ने नारायण गोपालको गीतको हरफ सुनाउँदै नेकपा शीर्ष नेतृत्वको निर्देशन पालना गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको सङ्केत दिए ।

प्रदेशसभामा ललितपुरबाट प्रतिनिधित्व गर्नुहुने विद्या श्रेष्ठले हेटौँडा नै उपयुक्त रहेको धारणा राखे । यहाँको वातावरण, भूगोल, सामरिक महत्व भारतसँगको नाकाबाट नजिक आदि धेरै कारण हेटौँडालाई नै स्थायी राजधानी बनाउनुपर्ने उनको धरणा थियो । दुईवर्ष अलमलिएको प्रदेश राजधानीलाई फेरि नयाँ ठाउँमा सारेर अरू दुई वर्ष अलमल गर्नुहुन्न भन्दै श्रेष्ठले इतिहासमा पनि मकवानपुर राजधानी भइसकेको उल्लेख गरे ।

अर्का सदस्य गीता वाग्लेले प्रदेशको राजधानी हेटौँडा नै हुनुपर्ने दाबी गरे । प्रदेशसभा सदस्य वाग्लेले देउवा सरकारले धेरै सोचेरै विगतमा अस्थायी राजधानी घोषणा गरेको र अहिले सत्तापक्षले पनि यसलाई सोचेरै स्थायी बनाउने निर्णय गरेको हुनुपर्ने बताए । मुकुन्द सेनले समेत राजधानी बनाएको मकवानपुर धेरै हिसाबमा राजधानीका लागि सही छ उनले भने ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी र नामाङ्कनका लागि सबै दललाई एक बनाएर सर्वसम्मतिमा निर्णय गराउन थाल्नुभएको पहलले काम गरेको आभास हुन्थ्यो । प्रदेश ३ को प्रदेशसभामा नेकपा एक्लैको दुई तिहाई बहुमत भए पनि महत्वपूर्ण विषय भएका कारण प्रमुख प्रतिपक्षी काँगे्रस र अन्य दलहरुबीच पनि सहमति गरेर अधिकतम सहमतिमा निर्णय गरेर सबै दलहरुलाई समेत अपनत्व दिलाउने पक्षमा मुख्यमन्त्री पौडेल रहेको जनाइएको छ ।

मुख्यमन्त्री पौडेलले नेकपा सचिवालयको सुझावअनुसार नै निर्णय गराउने र त्यसका पक्षमा विपक्षी दलहरुलाई समेत सहमत गराउन प्रमुख प्रतिपक्षी दल नेपाली काँगे्रसका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका प्रदेशसभा सदस्यहरु रीना गुरुङ, रीता माझी, विवेकशील नेपाली दलका सदस्य रमेश पौडेल, नेमकिपाका सुरेन्द्रराज गूसाईलगायतका प्रदेशसभा सदस्यहरुसँग समेत छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटमा सबै दलले नेकपालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले प्रदेशको राजधानी थुप्रै रणनीतिक कारणले हेटौँडा नै उपयुक्त हुने धारणा राखेको थियो । उनले नेपाली काँग्रेसले हेटौँडालाई राजधानी बनाउने र प्रदेशको नाम वाग्मती राख्ने विषयमा आपत्ति नजनाएको र केही प्रक्रियाको मात्र विरोध गरेको बताए ।

नेकपाकै केही नेताहरुले हेटौँडा अपायक वा कुनो परेको भन्ने गरेकोप्रति नेता बानियाँले सामरिक महत्वलाई ध्यान दिनुपर्ने भन्दै विगतमा सर्लाहीको सदरमुकाम राजमार्गमा नराखेर एकछेउ मलङ्गवामा राखिनु, धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, बाराको कलैयामा राखिनु पनि खास कारण रहेको र त्यस्तै कारण भएकाले प्रदेश ३ को राजधानी हेटौँडा उपयुक्त हुने उनको भनाइ थियो । हिजो सङ्घीयता नहुँदासमेत मध्यक्षेत्रको मुकामका रुपमा हेटौँडालाई नै तोकिनु, सेनाको मध्यपृतना, प्रहरीको मध्यक्षेत्रीय कार्यालयलगायत सुरक्षा अङ्गहरु पनि हेटौैँडामा नै राखिनुका पछाडि पनि गहिरो सुझबुझ र रणनीतिक कारण भएको भन्दै बानियाँले हेटौँडाको पक्षमा भनाइ राखे ।

प्रदेश सरकार गठन भएको दुई वर्षसम्म पनि नेकपाका प्रदेशसभा सदस्यहरुबीच सहमति बन्न नसक्दा टुङ्गो लाग्न नसकेको प्रदेश ३ को स्थायी राजधानी र नामको विषयलाई नेकपाको सचिवालयले तोकेरै सुझाव दिएपछि तरङ्गित बनेको यहाँको माहोल हेटौँडाकै पक्षमा गएको छ । सचिवालयको निर्णय र निर्देशन कार्यान्वयन गर्न तीन दिन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठकमा उपलब्ध प्रदेशसभा सदस्यमध्ये ६३ जनाले धारणा राखेकामा अधिकांश सदस्यले पार्टीको निर्देशन विपरीत जान नहुने धारणा राखेपछि यो विषयले नेकपा सचिवालयको निर्देशानुसार नै निकास पाउने देखिएको हो । सङ्घीय राजधानीको ‘पावर व्याक’ का रुपमा समेत रहने हुँदा हेटौँडाका पक्षमा सुरक्षा निकायको समेत चासो रहने भएकाले र देशको दीर्घकालीन हितका लागि पनि हेटौँडालाई राजधानी बनाउनु उपयुक्त हुने विश्लेषकहरु बताउँछन् ।

पार्टीको प्रदेश ३ संसदीय दलको बैठकमा धेरै छलफल र कुराकानी भएको भए पनि ठोस निर्णय भने हुन सकेको छैन । काँग्रेसले पनि ठोस निर्णय गर्न सकेको छैन । आजको मुख्यमन्त्री पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँ बीचको भेटमा भने नाम र राजधानीमा सत्तापक्ष र प्रतिपक्ष एकमत भएको सङ्केत मिलेको जनाइएको छ । राजधानी र नामका सम्बन्धमा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता बानियाँको एकै स्वर हुने सङ्केत देखिएको छ ।

नेकपाका केही सदस्यहरु भने राजधानीका सम्बन्धमा सचिवालयको निर्देशन विपरीत रहेकाले पार्टीले मतदानको समयमा ‘ह्विप’ लगाएरै भए पनि सचिवालयको निर्णयअनुसार नै नाम र राजधानी पारित गराउने तयारीमा रहेको जनाइएको छ ।