पु.समाचार

यस कारण नापतौल विभागले गर्यो चार सिमेन्ट उद्योगलाई कारवाही

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारवाही गरेको छ । विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ (क) अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए । विभागले विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको हो ।

खैरो हिरोइनसहित दुई पक्राउ

नेपाल प्रहरीले खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मङ्गलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले खैरो हिरोइन झोलामा बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ चावहिल पानीट्याङ्की नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

ब्यूरोले पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।