राजनीति

जिल्ला सभापतिहरुलाई देउवाको ‘लन्च’, जिल्ला सभापति भेलाबाट पौडेल उत्साही

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट जिल्ला सभापतिहरुको भेलाबाट उत्साही भएको बताएका छन् । बुधबार सम्पन्‍न भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले असन्तुष्ट जिल्ला सभापतिहरुले लिएको अडानबाट आफू उत्साहित भएको बताएका हुन् ।

संस्थापनइतर जिल्ला सभापतिहरूको पार्टी कार्यालय सानेपामा बुधबार भएको भेलाले भोली(बिहीबार) पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने निर्णय गरेको छ । संस्थापनइतर समूहले पार्टी सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा बिहिबार बिहान १० बजे भेटेर ११ पुसको निर्णय सच्याउन आग्रह गर्ने निर्णय गरेको हो ।

कांग्रेस नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीका अनुसार नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शेखर कोइरालाको उपस्थितिमा भएको भेलाले उक्त निर्णय गरेको हो ।

Image result for देउवाको 'लन्‍च पार्टी'

पार्टी कार्यालय सानेपामा ५० जिल्ला सभापतिसँग तीन दिन छलफल गरेपश्चात नेता पौडेलले ११ पुसमा गरिएको निर्णय सभापतिले सच्याउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘११ गतेको निर्णय सच्चिनुपर्छ भन्ने हाम्रो भनाइ थियो । त्यसमा उहाँ( ५० जिल्ला सभापति)हरुले बल थपिदिनुभएको छ र, यसबाट हामी उत्साहित भएका छौं ।’

पत्रकार सम्मेलनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि बहुमतको निर्णय सच्याउनुको विकल्प नभएको बताए । पार्टी महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै उनले भने, ‘यसको सुरुवात क्रियाशील सदस्यताबाट हुन्छ । तर ११ गतेको निर्णयले महाधिवेशनको निश्पक्षतामा नै गम्भीर आशंका छ ।’

सभापति शेरबहादुर देउवाले त निर्णय सच्याउन तयार छु भन्नुभएको छ नि भन्ने प्रश्नमा दुबै नेताले यसबारे सभापतिले आफूहरुसँग केही नभनेको बताए । सिटौलाले बाहिर कुन नेता वा प्रवक्ताले के बोले थाहा नभएको र आफ्ना माग पूरा गर्न सभापति तयार हो कि होइन भेटेर सोध्ने समेत बताए ।

स्रोतका अनुसार  पौडेल समूहले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आइपुगेका जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्‍च पार्टी दिने भएका छन् । काभ्रेका जिल्ला सभापति मधु आचार्यका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई ‘लन्‍च पार्टी’का लागि बोलाएका हुन् ।