प्रदेश 1

यातायातमन्त्री नेम्वाङ उत्तर दक्षिण मूलघाट दोभान सडक अवलोकन गर्दै

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिसँग जोडिएका सडक तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताएका छन् । उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्गलगायतका रणनीतिक महत्वका सडक आयोजना सरकारको ध्यानाकर्षणभित्र परेको उनले बताए ।

आज उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको अवलकोनपछि उनले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको उनको भनाइ छ ।

“उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, कञ्चनजङ्घा, पाथीभरा जानेलगायतका पूर्वका मुख्य सडक मुलुककै आर्थिक विकास र समृद्धिसँग जोडिएका छन्, यसको स्तरोन्नति र निर्माणमा सरकारको ध्यानाकर्षण भएको छ”, मन्त्री नेम्वाङले भने । पाथीभरा जाने सडकको स्तरोन्नति गर्नका लागि चार वर्षअघि नै बजेट विनियोजन गरिएको भए पनि हालसम्म काम नभएकोप्रति ध्यानाकर्षण भएको उनको भनाइ छ ।

यता मेची राजमार्गअन्तर्गतको सडकलाई फुङलिङ बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयको मागलाई समेत चासो दिने मन्त्री नेम्वाङले बताए । आगलागीलगायतका कारण ठूलो क्षति बेहोर्नु परेको लगायतका समस्या दर्शाउँदै राजमार्गलाई बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

यता ताप्लेजुङवासीले यहाँका ठूला सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने मागपत्रसहित ध्यानाकर्षण गराएका छन् । जिल्लास्थित सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाले १७ बुँदे मागपत्र तयार गरी तमोर करिडोर, उत्तर दक्षिण ओलाङचुङ्गोला सडक, मदन भण्डारी राजमार्ग, पाथीभरा सडकलगायतका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् । मन्त्री नेम्वाङले आज बिहान उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र पाथीभरा जाने सुकेटार देउराली सडकखण्डको स्थलगत अवलोकनसमेत गरे ।