आर्थिक

इटहरीमा अबको साढे चार महिनामै नेपालकै पहिलो स्मार्ट पार्किङ्ग

सुनसरी । नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अबको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ ।

इटहरी वडा नम्बर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । त्यहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ ।

इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्तर्गत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ । करिब १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया शुरु भइसकेको छ ।

सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरले नै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ । पछि १ मिनेटमा नै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सबै अटोमेटिक हुने छ ।

त्यहाँ गाडी धुने स्मार्ट वाश र कफिसपको पनि व्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्बन्धित ठाँउमा पुग्ने सवारी साधनको व्यवस्था मिलाउने विषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले बताए ।

इटहरीमा बढ्दो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक बन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा रहेको छ ।