लुम्बिनी

जिप दुर्घटना हुँदा १२ घाइते, ३ जनाको अवस्था गम्भीर

दाङ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

डोल्पाको खदाङबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोट जाँदै गरेको ग१ज ५२०१ नम्बरको जिप सडकबाट झन्डै ६०/७० मिटर खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख कविराज रोकायका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका ७ का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका ५ का ५२ वर्षीय चन्द्रबहादुर रोकाय सिकिस्त छन् । 

घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पताल लगिएको छ । जिप चालक तिलक विक भने फरार छन् ।