राजनीति

अहिलेको पत्रकारिता देखेर त राजीनामा दिउँ दिउँ लाग्छ- मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पछिल्लो समय पत्रकारसँग बोल्न मन नलागेको बताएका छन् । उनले आफूलाई मिडिया पूर्वाग्रह राखेर प्रस्तुत हुने गरेको आरोप लगाए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘अहिले बोल्नलाई आमसभा चाहिँदैन । मिडियाले संसारमाझ छिनभरमै पुर्‍याउँछन् । एउटा कुरा भन्दा, पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हाबी भएको छ । यस्तो पत्रकारिता देखेर राजीनामा दिएर बसौँ जस्तो झोक उठ्छ ।

उनले आफू पत्रकारिताबाट नै संञ्चारमन्त्री सम्म आइपुगेको स्मरण गरेका छन् । उनले पत्रकारले मर्म बुझ्नु पर्नेमा जोड दिँदै पत्रकार आचारसंहितामा रहेर कलम चलाउनु पर्ने बताए । मन्त्री बास्कोटाले भने,”संविधानको मर्म विपरीत प्रेस स्वतन्त्रता विपरीत हुने खतरा आए राजीनामा दिएर आन्दोलनमा होमिन्छु । कमिसन पत्रकारिता धेरै चल्दैन ।” अब व्यवसायी पत्रकारिता हुनुपर्ने उनको जिकिर थियो ।