पर्यटन/संस्कृति

देवीकोटमा भक्तजन वृद्धि

दाङ । दाङको देउखुरीस्थित देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर एक शक्तिपिठ हो । राप्ती गाउँपालिका–९ मा पर्ने देवीकोट अन्य ठाउँ भन्दा निकै विकट क्षेत्रमा पर्छ । सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार सेवा पुग्न सकेको छैन । जसका कारण त्यो क्षेत्र अझै पनि ओझेलमा छ ।

पूर्व–पश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । पहाडको चुचुरेमा अवस्थित देवीकोटको भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँ–नयाँ संरचना निमार्ण पनि भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा रहेका छन् ।

किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ । मन्दिरका पूजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधाना हुँदै आएको छ । भद्राक्षीदेवी मन्दिरमा पूजाआराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउछन् ।

“देवीकोटसम्म ठूला सवारी साधन नपुगे पनि साना सवारी साधन पुगेपछि साना गाडी र मोटरसाइकलबाट भए पनि भक्तजन मन्दिरसम्म पुग्ने गरेका छन्”, उनले भने “मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतिक्षालय निर्माणको काम गरेका छन् ।”

मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मशाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण गरिएको उनले बताए । अघिल्लो वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय मोटर बाटो पुगेपछि भने भक्तजन बढेका छन् ।

करीब तीन बिघा छ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाह मण्डप, हनुमान मन्दिर निमार्णाधीन अवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । देवीकोट दाङको चुरे श्रृङ्खलाको ऐतिहासिकस्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ ।

यस घोरेबासमा भुरेटाकुरे राजाका समयमा अड्डा अदालत र गोश्वारा कार्यालयसमेत रहेका स्थायीनवासीको भनाइ छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउन टोला नामकरण भएको स्थानीय ७९ वर्षीय जेठ नागरिक लुमकान्त पौडेल बताउँछन् ।

देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशङ्खला, महाभारत शृंखलाक पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतको सीमा क्षेत्रको भू–भागसमेत हेर्न सकिन्छ । गाउँपालिकाभित्र ऐतिहासिक, धार्मिक र साँस्कृतिक धरोहर धेरै छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ ।