बाग्मती

विद्यालय भवन निर्माण बल्ल शुरु

बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मङ्गलबार निर्माण कम्पनी छनोटको भएपछि पुन निर्माणले गति लिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार आह्वान गरिएको ठेक्कामा खानी÷ब्राइट जेभी पोखरीचौरी काभ्रेपलाञ्चोकलाई रु ४० करोड ७१ लाख ९२ हजार ३७६ को ठेक्का परेको छ । सात दिनभित्र उक्त निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) सँग सम्झौता गरेपछि निर्माण अगाडि बढ्नेछ ।

पाँचखाल नगरपालिकामा रहेको भगवती मावि, दुग्धेश्वर मावि र आजाद मावि, बनेपा नगरपालिकाको आजाद मावि, नमोबुद्ध नगरपालिकाको लक्ष्मीनारायण मावि र कानपुर मावि, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, पनौती नगरपालिकाको शारदा मावि, महाभारत गाउँपालिकाको भैरव मावि र खानीखोला गाउँपालिकाको जनहित माविका भवन सो सहयोगले बन्नेछ ।

भवन निर्माण नहुँदा विद्यार्थी जीर्ण भवनमा नै बसेर अध्ययन गर्दै आइरहेका छन् । चौरीदेउराली गाउँपालिका– २ नार्गेगगर्चेस्थित खाँडादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य राजीव लामाले समयमा विद्यालय भवन नबन्दा विद्यार्थी जीर्ण भवनमै जोखिममा अध्ययन गर्न बाध्य भएको बताएका छन् ।

महाभारत गाउँपालिका–१ गोकुलेस्थित भैरव माध्यमिक विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । प्रधानाध्यापक खुवनाथ दुलालले समयमा विद्यालयको भवन नबन्दा अझै दुई वर्षसम्म विद्यार्थीलाई टहरामै राख्नुपर्ने अवस्था रहेको बताए ।