अन्तर्राष्ट्रिय

इरानले गर्यो दुई अमेरिकी सैन्य शिविरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार, सुलेमानीको हत्याको बदला: इरान

एजेन्सी । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनेरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो ।

पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल(असदमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार भएको हो । मानवीय क्षतिका सम्बन्धमा भने पेन्टागनले केही भनेको छैन ।

हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ । राष्ट्रपतिलाई सूचित गरिएको छ र उनी आफ्नो राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन् ह्वाइट हाउस प्रवक्ताले एक विज्ञप्तिमा भनेकी छन् ।

गत शुक्रवार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव उच्च भएको छ । इरानले उक्त हत्याको बदला लिने बताउँदै आएको छ ।

उसका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाटै प्रहार गरिएका हुन् । अमेरिकी रक्षा अधिकारीहरूले त्यस क्षेत्रमा रहेका अमेरिका र उसको साझेदारहरूका नागरिकहरूको रक्षाका लागि आवश्यक कदम चालिने बताएका छन्।

इरानको रिभोलुसनरी गार्डस्‌ले पनि उक्त हमलालाई आफ्ना सैन्य जेनेरलको हत्याको बदलाका रूपमा अर्थ्याएको छ । हामी अमेरिकाको आतङ्ककारी सेनालाई आधार शिविर दिने सबै साझेदारलाई चेतावनी दिन्छौँ कि इरानविरूद्ध आक्रमणमा प्रयोग हुनसक्ने सबै शिविरहरूलाई निसाना बनाइने छ इरानी राष्ट्रिय समाचार एजेन्सीले प्रकाशन गरेको गार्डस्‌को एउटा वक्तव्यमा उल्लेख छ ।