पु.समाचार

उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा गर्छौंः डिआईजी पोख्रेल

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताएका छन् । समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले राजधानी भित्रिने नाकाको सुरक्षा गर्न प्रहरीसँगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताए ।

“अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको छ”, उनले भने । पोखरेलले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सबैको साथ सहयोग र सहकार्यको खाँचो रहेको बताए । समाज सुधारका लागि आफैँबाट सकारात्मक कामको शुरुआत गर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदाय सँगसँगै अगाडि बढ्नुपर्ने उल्लेख गरे। सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो ।