पु.समाचार

हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक

चरिकोट । पर्यटन वर्षको शुभारम्भसंगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालीञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालीञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताए ।

तराईबाट छोटो दूरीमा र काठमाडौँबाट नजिकै रहेका कारण राजधानीबाट मात्र दैनिक हजारौँ आन्तरिक पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिमाली जिल्ला दोलखाको रमणीय क्षेत्र कालीञ्चोकमा कालीञ्चोक भगवतीको दर्शन गर्न र हिउँ खेल्नकै लागि कालीञ्चोक पुग्ने गरेको पर्यटकले बताएका छन् ।

कालीञ्चोक क्षेत्रमा मात्र हाल दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेको कालीञ्चोक कुरीस्थित होटल सुनपातीका सञ्चालक हरि वलीले बताए । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको मागलाई लक्षित गरी कालीञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको व्यवसायी वलीले बताए ।

ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको उनको भनाइ छ । होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकालो समस्या भएको जनाएका छन् । हिउँका कारण कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटल समेत भरिभराउ छन् । हिउँ परेपछि कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए । उनले ट्याङ्करबाट पानी ल्याएर व्यवस्थान गरिएको पनि बताए ।

राजधानी काठमाडौँबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । धार्मिक आस्था तथा हिउँ खेल्नका लागि भारतीय पर्यटक दोलखामा आउने गरेको छ । नेपालकै तेस्रो केबुलकारसमेत कालीञ्चोकमा सञ्चालनमा रहेका कारण हिमाली क्षेत्रमा केबुलकारबाट मनोरञ्जन लिनका लागि समेत पर्यटक कालीञ्चोक पुग्ने गरेको पाइन्छ ।

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालीञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् । यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

जिल्लामा परेको हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।