शिक्षा

शिवालय माविको ५९ औँ वार्षिकोत्सव, ५ लाख पुरस्कार दिने क्षेत्रीको उद्घोष

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले सामुदायिक विद्यालय बोर्डिङ स्कुल जस्तो होइन, सामुदायिक जस्तै बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला शिक्षा समितिका अध्यक्षसमेत रहेका क्षेत्रीले सामुदायिक विद्यालयमा भएको नेपाल सरकारको ठूलो लगानीको सदुपयोग गर्न समुदायसँग आग्रह गरे । ‘पैसा जसले तिरे पनि जनताकै पैसा हो’ उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावक मिलेर अघि बढ्नैपर्ने हुन्छ ।’ सामुदायिक विद्यालयलाई अघि बढाउन ‘झिकाउ, टिकाउ, सिकाउ र बिकाउ’ गरी चार ‘काउ’मा जोड दिनुपर्ने क्षेत्रीको भनाइ थियो ।

विकास भनेको बाटा, पुल मात्रै हो भन्ने धारणालाई परिवर्तन गर्नुपर्ने विचार राख्दै अध्यक्ष क्षेत्रीले विकासको पहिलो खुड्किलो नै शिक्षा हो भन्ने कुरा आजका जनप्रतिनिधिले बुझ्नुपर्ने बताए । उनले भने, ‘लगानीको पहिलो प्राथमिकता शिक्षा क्षेत्रले पाउनुपर्छ, शिक्षामा गरिएको लगानीको प्रतिफल आजको भोलि नदेखिएला तर वर्षौँपछिसम्म यसले प्रभाव राख्दछ, सुसंस्कृत समाज निर्माणमा यसले मूल भूमिका खेल्दछ ।’ शिक्षामा लगानी गर्न कुनै पनि तहका सरकारले कन्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो । क्षेत्रीले रुपा गाउँपालिकाभित्र उत्कृष्ट बनिसकेको शिवालय माविले आफूलाई जिल्ला हुँदै देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउने क्षमता देखाएकोमा खुसी व्यक्त गर्दै रु. ५ लाख पुरस्कार दिने घोषणासमेत गरे ।

कार्यक्रमका विशेष अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निजी विद्यालयभन्दा क्षमतावान् शिक्षकहरु सामुदायिक विद्यालयमा छन् भन्ने प्रमाण शिवालयले प्रस्तुत गरेको भनाइ राखे । शैक्षिक गुणस्तरका लागि ल्याइएका योजनाहरुलाई कहिल्यै निराश हुन नदिने भन्दै उनले गाउँपालिकाले सम्पूर्ण शिक्षक कर्मचारी, जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम लागू गर्दाको परिणाम सकारात्मक देखिएको अनुभव सुनाए । ओझाले थुम्कीसहित रुपा गाउँपालिकाका विभिन्न वडामा देखिएको खानेपानीको समस्य अब छिटै समाप्त हुने जनाए ।

रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल र शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालय माविबाट अन्य विद्यालयले सिक्नुपर्ने धेरै कुरा रहेको भन्दै गाउँपालिकाले गर्व गर्न सक्ने विद्यालयका रुपमा शिवालय रहेको बताए ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले गाउँपालिकाभित्र २ वर्षसम्म उत्कृष्ट भएर पुरस्कृतसमेत भइसकेको विद्यालयलाई आधुनिक समयसापेक्ष पठन÷पाठन कार्यक्रम सञ्चालन गर्दै जिल्लामै उत्कृष्ट बनाउने अभियानमा विद्यालय लागिपरेको सुनाए । उनले पाठ्यक्रमले तोकेकोबाहेक विद्यार्थीमा अन्तर्निहीत विभिन्न प्रतिभा विकासका लागि आफूहरुले प्रयास गरेको जानकारी दिए । लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष राजन सुवेदी, लेखनाथ उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझा, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, वडा नं. २ की कार्यवाहक वडा अध्यक्ष हिता रुपाखेती, अभिभावक तथा विव्यस सदस्य दुर्गाबहादुर विक, अक्षयकोष संस्थापक एकबहादुर गुरुङ, शिक्षक–अभिभावक सङ्घकी अध्यक्ष लीला ओझा, कक्षा १० का छात्र सरोज सुवेदीलगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयका शिक्षकहरु बिना तिमल्सेना, जयराम सुवेदी र सुकबहादुर थापासँगै समाजसेवी रुमबहादुर गुरुङ, अक्षयकोष संस्थापक विमला अधिकारी, व्यवसायी दीपेन्द्र मल्ल, सहयोगी संस्था युनाइटेड क्लब र राइट फर चिल्ड्रेनलाई शिवालय वर्ष सम्मान २०७६ प्रदान गरिएको थियो । सोही कार्यक्रममा चूडामणि तथा बसुन्धरा ओझा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, तुलाराम गुरुङ अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी गुरुङ अक्षयकोष, तुलसी ढुङ्गाना अक्षयकोष र पदमराज तथा मैनादेवी सुवेदी अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतका प्रतिभा प्रस्तुत गरेका कार्यक्रममा वार्षिक शैक्षिक तथा सहकार्यकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

अध्यक्ष तिलबहादुर थापाले आगामी शैक्षिक सत्रदेखि नयाँ ढङ्गले अघि बढ्नका लागि केही योजना निर्माण गरिरहेको बताए । कार्यक्रमको सञ्चालन शिक्षक जयराम सुवेदीले गरेका थिए । सोही अवसरमा स्थानीय भागीरथी ओझा र राधिका ओझाले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।