राजनीति

ललनकुमारको मृत्युले सभापति देउवा बने भावुक, पार्टीले कुशल संगठनकर्तालाई गुमाएको जिकिर.

काठमाडौं । नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति पार्टीले गहिरो दु:ख व्यक्त गरेको छ ।

आज(मंगलबार) काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गंगोत्री यातायातको बस वर्दिवासबाट १० किलोमिटर पर रोकिरहेको ट्रकमा ठोकिदा दुर्घटना भएको थियो । दुर्घटनापश्चात तत्कालै उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल लैजादै गर्दा बाटोमै ५५ वर्षीय रायको निधन भएको थियो ।

उक्त दुर्घटनामा नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व जयप्रकाश चौधरी समेत गम्भीर घाइते भएका छन् । घाइतेको जनकपुर स्थित अस्पतालमा उपचार भैरहेको छ ।

महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नं. ९, बथनाह गाउँ निवासी स्व. ललनकुमार राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको उम्मेदवार थिए । वि.सं. २०३६ सालदेखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उनले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४९ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको इलाका सदस्यमा उनी निर्वाचित भएका थिए ।

स्व. राय नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीको पूर्व कोषाध्यक्ष (दुई कार्यकाल) र नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला कार्यसमितिको पूर्व कोषाध्यक्ष समेत रहेका थिए । नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उनले करीब ३ वर्ष जेल जीवन समेत बिताएका थिए । ०६२/६३ को भृकुटीमण्डप केन्द्रीत आन्दोलनमा सहभागी हुँदा सुरक्षाकर्मीको प्रहारबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको र उक्त खुट्टामा रड समेत राख्नु परेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललनकुमार रायको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भने- “नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको दुर्घटनामा परी निधन भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइते सबै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

“नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।” मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको शोक  विज्ञप्तीमा भनिएको छ ।