अन्तर्राष्ट्रिय

इराकबाट अमेरिकी सेना तत्काल फिर्ता हुँदैन- अमेरिकी रक्षामन्त्रालय

एजेन्सी । इराकको संसदले दुई दिनअघि संकल्प प्रस्ताव पारित गर्दै  आफ्नो सेनालाई इराकबाट फिर्ता पठाउन दिएको निर्देशन अमेरिकाले अस्विकार गरेको छ । अमेरिकाले आफ्ना सेना तत्काल  फिर्ता नगर्ने अमेरिकी रक्षामन्त्रालयले जनाएको छ ।

लामो समयदेखि इराकमा अमेरिकी सेना रहँदै आएका छन । गत शुक्रबार अमेरिकी सेनाको हवाई हमलामा परी राजधानी बग्दादमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेना फिर्ता गर्नुपर्ने माग उठेको छ ।

इराकी संसदमा शिया सम्प्रदायसँग सम्बन्धित सांसदहरुले पेश गरेको सो प्रस्ताव पारित भएको हो । एकजना अमेरिकी सैन्य जनरलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रपश्चात् अमेरिकी रक्षामन्त्रालयले इराकबाट अहिलै फौज फिर्ता गर्ने बेला नभएको स्पष्ट पारेको हो ।

ती अमेरिकी सैन्य जेनेरलले लेखेको पत्रमा अमेरिकाले आगामी दिन र साताहरूमा फौजलाई स्थानान्तरण गर्ने उल्लेख गरिएको थियो । इराकी संसद्ले इराकबाट अमेरिकी फौज फिर्ता हुनुपर्ने संकल्प प्रस्ताव पारित गरेपछि सो पत्र लेखिएको थियो ।

अमेरिकी रक्षामन्त्रीले सो पत्र अमेरिकी अडानसँग नमिल्ने बताएका छन् । अमेरिकी सेनाका एकजना वरिष्ठ सैन्य अधिकारीले पनि सो पत्रको भाषा नमिलेको र गल्तीले पठाइएको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इराकबाट आफ्नो सेना फिर्ता गर्नुपरेमा इराकमाथि कडा प्रतिबन्धहरू लगाउने बताउँदै आएका छन् ।