खेलकुद

युभेन्टसद्धारा काग्लियारी चार–शून्य ले पराजित

काठमाण्डौ । इटालियन सिरी ए फुटबलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिक गोल मद्दतले युभेन्टसले काग्लियारीलाई चार–शून्य गोलले पराजित गरेको छ ।

टोरिनोमा पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्टसले चार गोल नै दोस्रो हाफमा गरेको हो । ४९औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

काग्लियारीका डिफेन्डरले डिवालालाई डी बक्समा फल गरेपछि युभेन्टसले पेनाल्टी पाएको थियो । त्यो पेनाल्टीलाई पनि रोनाल्डोले गोलमा परिणत गरे । उनले ६७औँ मिनेटमा टिमका लागि र व्यक्तिगत दोस्रो गोल गरे ।

यसैगरी ८१औँ मिनेटमा गोन्जालो हिग्युनले युभेन्टसका लागि तेस्रो गोल गरे । त्यसको एक मिनेटपछि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

जितसँगै युभेन्टस ४५ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा एट्लान्टाले पर्मामाथि पाँच–शून्यको फराकिलो जित दर्ता गरेको छ ।