बाग्मती

७५ हजार घुस रकमसहित नापी कार्यालय वीरगञ्जका सर्वेक्षक पक्राउ

पर्सा । सेवाग्रहीसँग ७५ हजार घुस लिएको अभियोगमा नापी कार्यालय वीरगञ्जका सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रङ्गे हात पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नं नापी टोली कार्यालयमा सेवाग्रहीसँग रु ७५ हजार घुस रकम लिँदै गरेको अवस्थामा आज बेलुकी ६ः३० बजे रङ्गे हात सर्वेक्षक पासवालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारवाही गर्दा सर्वेक्षक पासवान रङ्गे हात पक्राउ परेको बताइएको छ । पक्राउ परेका सर्वेक्षक पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लैजाने तयारी आयोगले गरेको छ ।