बाग्मती

वन्यजन्तु पीडित किसानलाई क्षतिपूर्ति

दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले संरक्षण क्षेत्रका वन्यजन्तुले क्षति पुर्याएका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका र विगु गाउँपालिकाका किसानलाई संरक्षण क्षेत्रका वन्यजन्तुले पुर्याएको क्षतिको आधारमा रकम उपलब्ध गराएको हो ।

संरक्षण क्षेत्रअन्तर्गत बसोबास गर्ने विगु र गौरीशङ्कर गाउँपालिकाका नौ किसानलाई रु एक लाख चार हजार क्षतिबापतको रकम भुक्तानी गरेको छ । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरका मेनमाया तामाङले रु २३ हजार, गौरीशङ्कर गाउँपालिका¬–९ गौरीशङ्करका आइतीमाया तामाङले रु १७ हजार, गौरीशङ्कर गाउँपालिका–५ सुरीका नेत्रबहादुर खड्काले रु नौ हजार, सोही वडाका दिनेश खड्काले रु १० हजार, गौरीशङ्कर गाउँपालिका–८ खारेका अर्जुन बुढाथोकीले रु १० हजार र सोही वडाका टलकबहादुर तामाङले रु १५ हजार तथा साङवीर तामाङले रु पाँच हजार क्षतिबापतको रकम पाएका छन् ।

अधिकांश किसानको संरक्षण क्षेत्रभित्र रहेका चितुवाले पशु चौपायामा क्षति पु¥याएको र क्षतिबापतको रकम किसानलाई उपलल्ध गराइएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनाराण शाहले बताए । गौरीशङ्कर संरक्षण क्षेत्रमा लोप हुन लागेका धेरै प्रजातिका जीवजन्तुको बास स्थान भएको र वन्यजन्तुले किसानलाई क्षति पुर्याएमा संरक्षण क्षेत्रले क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउने भएको हुँदा सबैले वन्यजन्तुको संरक्षण गर्न संरक्षण प्रमुख साहले आग्रह गरे।

हालै गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको अध्ययनमा २१ संरक्षित वन्यजन्तुमध्ये सात प्रजातिका वन्यजन्तु यस संरक्षण क्षेत्रमा रहेको प्रमाण फेला पारेको छ । हिउँचितुवा, ब्वासो, रेडपाण्डा, कस्तुरी मृगजस्ता महत्वपूर्ण जनावर संरक्षण क्षेत्रमा रहेको संरक्षण क्षेत्रले जनाएको छ ।