खेलकुद

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुदैछ । लिग अन्तरगत पाँचौं चरणको खेलमा सोमबार दुई खेल हुन लागेको हो । पहिलो खेलमा जावलाखेल युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ । यस्तै दोस्रो खेलमा उपाधि दाबेदार मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

शीर्ष स्थान जावलाखेलको लक्ष्य लिगकै उत्कृष्ट लयमा रहेको जावलाखेलले पाँचौं चरणमा एनआरटीको सामना गर्दैछ । लिगमा अपराजित रहेको जावलाखेल र एनआरटीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ । जावलाखेल एनआरटीलाई पराजित गर्दै केहि समयको लागि शीर्ष स्थान कब्जा गर्ने दाउमा हुनेछ । यस्तै सुरुवाती खेलबाटै २ अंक खोसिएको एनआरटी पनि जावलाखेललाई पराजित गर्दै शीर्ष ६ मा आफुलाई सुरक्षित गर्न चाहन्छ ।

लिगमा जावलाखेल ८ अंक सहित लिग तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमाा रोक्न सफल भएको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।  यस्तै तेस्रो खेलमा संकटासँग बराबरी खेलेको जावलाखेलले चौंथो खेलमा अप्रत्यासित नतिजा निकाल्यो । उसले बलियो मानिएको च्यासल युथलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

लिगको पाचौं खेलमा एनआरटीलाई पराजित गरे जावलाखेल शीर्ष स्थानमा उक्नले छ । जावलाखेलका प्रशिक्षक नरेश गिरी एनआरटीलाई पराजित गर्ने लक्ष्यमा आफ्नो टिम रहेको बताएका छन् । ‘एन आरटी राम्रो टिम हो । हामी पनि उसलाई सहज रुपमा नलिई ३ अंकको लागि खेल्छौं ।’ नरेश भन्छन् ।

यस अघि व३टै विदेशी खेलाएको जावलाखेल पाचौं खेलमा भने एक साउथ एसियन कोटाको एक खेलाडी पनि मैदान उतार्दै छ । उसले भारतीय स्ट्राइकर कुवेर विष्ट अनुबन्ध गरेको छ ।

गत सिजन भएको यी दुईको भिडन्तमा एनआरटीले बाजी मारेको थियो । सुशील लामा म्यान अफ दि म्याच भएको खेलमा जावलाखेल २–१ गोल अन्तरले पराजित भएको थियो ।

यता, एनआरटीका प्रशिक्षक राजु काजी शाक्य जावलाखेललाई हल्का नलिई ३ अंक खोस्ने दाउमा छन् । ‘जावलाखेलले राम्रो खेल खेलिरहेको छ । मोरल पनि हाई छ उनीहरुको । सामान्य लिनु हुँदैन उनीहरूलाई । तर पनि हामी ३ अंकको लागि खेल्छौं,’ उनले भने ।

अन्तिम खेलमा मछिन्द्रसँग पराजित हुँदा आफ्ना मुख्य स्ट्राइकर गुमाएको एनआरटी उनको आगमनसँगै हौसिएको छ । उसको जोर्डन जिआर ओआना दुई खेलमा पाएको पहेलो कार्डका कारण एक खेलको प्रतिबन्धमा रहेका थिए । सोमबार भने उनी टिममा फर्कने छन् । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एनआरटीको सुरुवातबाटै २ अंक खोसिएको छ । लिगमा दुई जित र दुई खेल हारेको उसको २ अंक खोसिदा ४ अंक रहेको छ । जारी लिगमा संकटा र मछिन्द्रसँग पराजित एनआरटीले सरस्वती युथ र च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

बहुप्रतिक्षित भिडन्त

पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको मछिन्द्रले पहिलो पटक लिगमा शीर्ष स्थान कब्जा गर्ने अवसर बनाउँदै छ । चौंथो चरणसम्म तेस्रो रहेको मछिन्द्रले पाँचौं चरणमा साविक विजेता मनाङ मर्स्याङ्दीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउसो ३ बजे सुरु हुनेछ । लिग लिडर समत रहेको मनाङलाई पराजित गर्न सके मछिन्द्र शीर्ष स्थानमा उक्लनेछ ।

गत सिजन लिग जित्दा मनाङमा रहेका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन् । त्यसैले पनि यस खेललाई महत्वका साथ हेरिएको छ । लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलो पटक मनाङविरुद्ध उत्रदैछन् । अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन्त गुरुङ, दिपक राई, लोनमा आएका देभेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन् ।

त्यसैले त मनाङ र मछिन्द्रलाई नेपाली फुटबलको नयाँ प्रतिद्वन्दीको रुपमा पनि हेरिएको छ । मछिन्द्रका कप्तान विराज महर्जन पुरानो क्लबविरुद्ध आफुहरु खेल्न तयार भएको बताउँछन् । ‘हाम्रो पुरानो क्लब हो । एक हिसाबले आफ्नै क्लबसँग खेल्न पाउँदा खुसी पनि छौं । हामी खेल्न तयार छौं । हाम्रो मुख्य लक्ष्य नै ३ अंक हुनेछ,’ पहिलो पटक मछिन्द्रबाट खेल्दै गरेका महर्जनले भने ।

जारी लिगमा अपराजित रहेको मछिन्द्र ९ अंक जोड्दै तालिको तेस्रो स्थानमा छ । गत सिजन लिगमा गरेको खराव प्रदर्शनका कारण मछिन्द्रसँग सुरुवातमै एक अंक खोसिएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाईजलाई पराजित गरेको मछिन्द्र दोस्रो खेलमा भने च्यासलयुथसँग १(१ को बराबरीमा रोकिएको थियो । यस्तै तेस्रो खेलमा फ्रेन्डसलाई ३–० गोल अन्तरले पराजित गरेको मछिन्द्रले चौंथो खेलमा भने एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

गत सिजन मनाङले मछिन्द्रलाई १(० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा मछिन्द्रका गोलरक्षक दिप कार्की म्यान अफ दि म्याच चुनिएका थिए । मनाङ अघिल्लो सिजनको प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ । मनाङका विदेशी प्रशिक्षक फुजा तोपे मछिन्द्रविरुद्ध ३ अंकको लागि नै खेल्ने बताउछन् । ‘मछिन्द्र यस पटक बलियो छ । तर हामी ३ अंकका लागि खेल्छौं ।’ फुजा भन्छन् ।

यता, मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहेको छ । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै टिममा फर्कन लागेका हुन् । अन्जन टिममा फर्कदा सबैलाई हौसला बढेको र टिमलाई धेरै फाइदा पुगेको समेत प्रशिक्षक फुजाले बताए ।

पहिलो खेलमा विभागीय एपीएफ र दोस्रो खेलमाआर्मीलाई पराजित गरेको मनाङले तेस्रो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको थियो । चौंथो खेलमा भने मनाङ फ्रेन्ड्ससँग १(१ गोलको बराबरीमा रोकिएको थियो ।