राजनीति

दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार बढ्योः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि पनि युवापिँढी बाहिरिनुपर्ने बाध्यता रहेको बताए । “झण्डै ५० प्रतिशत युवा जमात बेरोजगारी समस्याले मुलुक बाहिर छ ।” थापाले भने, “क्रियाशील जनशक्ति बाहिरिएर समृद्ध नेपाल बन्न सक्दैन ।”

उनले सरकारले संवैधानिक र कूटनीतिक निकायलाई नियन्त्रण गर्न खोजेको आरोपसमेत लगाए । मुलुकमा ठूला भ्रष्टाचार काण्ड सार्वजनिक हुँदा पनि सरकारको ध्यान नजाँदा भ्रष्टाचारीलाई प्रोत्साहन मिलेको धारणा राखे । “दल, ठूला व्यापारी र कर्मचारीको मिलेमतोमा ठूला भ्रष्टाचार हुँदैछन्”, उनले भने, “प्रतिपक्षी दल पनि यसबाट अछुतो छैन ।”