समाचार

प्रदेशसभामा राजधानी र नामका विषयमा प्रस्ताव पेश गरिने

चुरियामाई । प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा यही पुस २१ गते छलफल हुने र २२ गते मतदान हुने बताएका छन् ।

प्रदेशसभा सचिवालयमा आज पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले दुई दिनको कार्यविधिका बारेमा जानकारी गराएको हो । पहिलो दिनको प्रदेशसभा बैठकमा नौ प्रस्ताव रहेका उनले बताए । त्यसैगरी दोस्रो दिन छ प्रस्ताव रहेका र त्यसमध्ये राजधानीका बारेमा निर्णयसमेत रहेको उनले जानकारी दिए ।

राजधानीका लागि सम्भावित भनी तोकिएका पाँचवटै जिल्लाका विषयमा छलफल हुने उनको भनाइ छ । निर्णयार्थ दुई तिहाइ बहुमतले पारित गरेको जिल्लालाई राजधानी घोषणा गरिने सभामुख श्रेष्ठले बताए । निर्णयार्थ छलफलमा जाँदा वर्णमालाका आधारमा छलफल हुने र प्रत्येक जिल्लाका लागि मतदानसम्मको प्रक्रिया पूरा गरिने उनले जानकारी दिए ।