समाचार

बौद्ध धर्मावलम्बीबाट षडक्षरी लोकेश्वरको अभिषेक ग्रहण

काठमाडौँ । ‘ओँ मणि पद्यमे हुँ ! ओँ मणि पद्यमे हुँ !!’ नेपाल परम्परागत बौद्धधर्म सङ्घद्वारा आयोजित काठमाडौँको सुप्रसिद्ध शामार रिम्पोछे गुम्बामा बज्रयान बौद्ध गुरु षडक्षरी लोकेश्वरको प्रार्थनामा व्यस्त थिए ।

बज्रयान बौद्धधर्ममा ‘ओँ मणि पद्यमे हुँ !’ को अर्थ ‘म कमलको फूल जस्तै शुद्ध हुने छु ।’ ‘म कमलको फूल जस्तै पवित्र र अमूल्य हुनेछु ।’ भन्ने हुन्छ । यसरी आफूलार्ई षडक्षरी लोकेश्वरको स्वरुप धारण गरी मन्त्रोच्चारण गर्नेको सङ्ख्या एक हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको पत्रकार गौतमबुद्ध बज्राचार्यले जानकारी दिए ।

अमिताभ बुद्धको समयदेखि बौद्ध धर्मावलम्बीले षडक्षरी लोकेश्वरको अभिषेक तथा मन्त्र ग्रहण गर्दै आएको जनविश्वास छ । यो षडक्षरी लोकेश्वरको मन्त्र नेपाल परम्परागत बौद्धधर्म सङ्घले बितेको १८ वर्षदेखि बौद्ध धर्मावलम्बी, बौद्ध धर्मप्रति आस्था राख्ने भक्तजनलाई प्रदान गर्दै आएको छ ।

षडाक्षरी लोकेश्वरको आशनमा ग्रहण गरी सकेपछि सहभागी बौद्धगुरुले एउटा विशाल पोखरीको कल्पना गरी त्यस पोखरीभित्र विभिन्न किराफट्याङ्ग्रा, जलचरसहितको फोहर पानी रहेको पोखरीमा तैरिरहेको सुन्दर, सुवासनायुक्र कमलको फूल प्रादुर्भाव भएको कल्पना गरेका थिए । त्यही कमलको फूलबाट षडक्षरी लोकेश्वरको प्रादुर्भाव भएको थियो ।

सेतो वर्ण, चन्द्रमाजस्तो ज्वाज्वल्यमान षडक्षरी लोकेश्वर देव, दैत्य, मनुष्य, तिर्यग्, प्रेत, नरकजस्ता छ वटा भुवनमा दुःख पाइरहेका प्राणीको उद्धार गर्ने महान् लक्ष्य लिई महासत्व बोधिसत्व भएको बौद्ध धर्मावलम्बीको विश्वास छ ।

यस संसारमा सम्यक सम्बुद्ध भइसक्नुभएका बुद्ध, वर्तमानकालका बुद्ध तथा बोधिसत्व तथा भविष्यमा यस धरतीमा पदार्पण हुन आउनुहुने बोधिसत्व, प्रत्येक बुद्ध तथा श्रावक बुद्धलाई बन्दना गरी सहभागी बौद्ध धर्मावलम्बीले आफूले बोधिज्ञान प्राप्त नगरेसम्म बुद्ध, धर्म र सङ्घको शरणमा जान्छु भनी सप्तविधानुत्तर पूजा गरी सामूहिक प्रतिज्ञा गरेका थिए ।

‘सम्यक सम्बुद्ध तथा बोधिसत्वले जस्तै मैले पनि जगतहितका लागि बुद्ध भई बोधिचित्तोत्पाद गर्ने सङ्कल्प गर्दछु । सबै सहभागीले एक स्वरमा प्रतिज्ञा गरे । कार्यक्रममा नेपाल परम्परागत बौद्धधर्म सङ्घका अध्यक्ष बौद्धविद्वान प्रा डा नरेशमान बज्राचार्यले कार्यक्रममा सहभागी बौद्धगुरु तथा भक्तजनलाई षडक्षरी लोकेश्वरको अभिषेक तथा मन्त्र दान गरेको थियो ।

त्यस्तै बौद्ध विद्वान बज्राचार्य तथा अर्का बौद्ध विद्वान कविन्द्र बज्राचार्यले क्रमसः षडक्षरी ध्यान–१ तथा षडक्षरी ध्यान–२ को ध्यान प्रशिक्षण दिएको थियो । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका बौद्ध विद्वान डा. नरेशमान बज्राचार्यले षडक्षरी लोकेश्वर यो संसारमा पदार्पण हुनुभई जगत उद्धारमा समर्पित भएको बताउँदै हामीले पनि यो संसारमा रहेका प्राणीको उद्धार तथा दुःखबाट मुक्त गर्न मानिस–मानिसवीच रहेको भेदभाव तथा घृणाको अन्त्यका लागि लाग्नुपर्नेमा जोड दिए ।

बौद्ध विद्वान कविन्द्र बज्राचार्य, त्रिरत्न बज्राचार्य, भीम बज्राचार्यलगायतका वक्ताले षडक्षरी लोकेश्वरको ध्यानबाट आफूमा शारीरिकरुपमा स्वस्थ्य तथा स्फूर्ति अनुभव हुनुका साथै समाजमा शान्ति तथा सहअस्तित्व कायम गर्न प्रेरणा मिल्ने बताए ।

काठमाडौँको नागार्जुनस्थित रानीवनमा रहेको शामार रिम्पोछे बौद्ध गुम्बामा शारमिनुब इन्ष्टिच्युट, कमलको पोखरी, आनन्द मन्दिर, ३५ बुद्ध स्तूपा, बुद्ध वृक्षसमेत निर्माण गर्ने गुम्बाको गुरुयोजनामा उल्लेख छ । सो गुम्बामा २०० बौद्ध लामाले बौद्ध शिक्षा ग्रहण गर्नसक्ने क्षमता छ ।