पर्यटन/संस्कृति

बेलायतमा भ्रमण वर्ष २०२० को शुरुआत

लण्डन, २० पुस । बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गरेको हो । उनले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटन लैजान कोशिश गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल जाने बताए ।

राजदूत सुवेदीले बेलायतमा बस्ने सबै नेपालीलाई सन् २०२० मा सपरिवार नेपालको भ्रमण गर्न र आफ्ना ब्रिटिशस्थित साथीलाई भ्रमण गर्न प्रेरित गर्न आग्रह गरे । उनले बेलायतमा रहेका सबै नेपाली रेस्टुरेन्टलाई ‘भिजिट नेपाल इयर २०२०’ को प्रचारप्रसार गर्न र दूतावासले ‘भिटिज नेपाल’का पर्चासमेत रेष्टुरेन्टलाई उपलब्ध गराउने बताए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गत वर्ष नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा लन्डनका ५० बसमा नेपाल भ्रमण वर्षको विज्ञापन गरिएको जानकारी दिए । उनले बेल्फास्ट, म्यानचेस्टर लगायतका सहरमा पनि भ्रमण वर्षसम्बन्धी कार्यक्रम आयोजना गरिएको बताए । गत वर्ष जनवरी १९ मा राजदूत सुवेदीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समितिसमेत गठन भइसकेको उहाँले जानकारी गराए । उनले सन् २०२० मा बेलायतबाट कम्तिमा एक लाख पर्यटक पठाउने गरी कार्ययोजना बनाइएको जानकारी गराए ।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै सङ्घसंस्थालाई भ्रमण वर्ष सफल पार्न आह्वान गरे । सो अवसरमा भ्रमण वर्ष सफल पार्न दूतावासबाट गठन गरिएका २२ विभिन्न समितिका पदाधिकारीले आआफ्ना समितिका कार्यक्रम र योजनाबारे प्रस्तुती गरेको थियो । समारोहमा बेलायतको मिडल्याण्डलगायत विभिन्न सहरबाट आएका नेपाली समुदायका अगुवाको उल्लेख्य उपस्थिति थियो ।