समाचार

जुम्ला विमानस्थलको स्तर वृद्धिमा जोड

खङ्गा । जुम्ला विमानस्थललाई स्तरवृद्धि गराई थप हवाई यातायातमा सहज गर्न जोड दिइएको छ । स्थानीय सरोकारवालाले पटकपटक यो विषयलाई उठाइरहेका छन् । आज आयोजित एक कार्यक्रमका सहभागीले विमानस्थलको सुधारका लागि जोड दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्र सिंहले धावनमार्गको स्तरवृद्धि गरी सुरक्षित अवतरणको व्यवस्था गराउन पहल भइरहेको बताए । अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको जीवन बचाउन र सहज यात्राका लागि हवाई यात्रा भरपर्दाे र सुरक्षित रहेकाले जुम्लालाई केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान गर्न सकेमा पर्यटकलाई सहज हुनेमा उनले जोड दिए ।

उनले रु एक करोडको लागतमा कमर्सियल भवन निर्माण हुने जानकारी गराए । हवाइजहाज दुर्घटना हुँदा आगो नियन्त्रण गर्नका लागि पनि फायर भेकल रु एक करोड २५ लाखमा खरिद गरी विमानस्थलमा राखिएको उनको भनाइ छ । दुई सय ३० लिटर पानी अट्ने क्षमताको फायर भेकल २४सै घण्टा विमानस्थलमा तयारी अवस्थामा रहनेछ ।

नागरिकलाई सुरक्षित यात्राका लागि अपनाएको रणनीति र यात्रुलाई दुःख नपाउन भन्नका लागि गरेका कामका बारेमा जानकारी गराइएको थियो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले हवाई सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय सचेत रहेको बताए । नागरिकलाई सुरक्षितरुपमा यात्रा गर्न पाउने अधिकार सुरक्षित गराउन उनले नागरिक उड्डयन कार्यालय जुम्लालाई निर्देशन दिएको छ । आम नागरिकले सहजै हिसाबमा हवाई टिकट पाउने व्यवस्थासहित सामाजिक न्याय गर्न उनले सबै एयरलाइन्सलाई आग्रह गरे ।

चन्दननाथ नगरपालिका– १ का वडाध्यक्ष जयबहादुर रावलले साविक कर्णालीको केन्द्रका रुपमा स्तरवृद्धि गरेमा पर्यटकका लागिसमेत राम्रो हुने जानकारी दिए । उनले विमानस्थलको विकास र स्तरवृद्धिका लागि स्थानीय समुदायले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।