समाचार

जल पुनर्भरण र दिगो कृषिको उत्तम अभ्यास बर्दिवासमा

काठमाडौँ । चुरे संरक्षण, जल पुनर्भरण र दिगो कृषिको उत्तम अभ्यास महोत्तरीको बर्दिवासमा सञ्चालन भइरहेको तथ्य सार्वजनिक गरिएको छ । वातावरण विनाश, पानीको स्रोतको नाश र कृषिको उत्पादकत्वमा आएको ह्रासले सिगो मुलुक चिन्तित बनेका बेला यो सुखद् समाचार आएको हो ।

राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले स्मार्ट वास सोलुसन्सको प्रथम साधारणसभामा सो जानकारी दिए । “बर्दिवासको रातु खोला बाहिरबाट हेर्दा बगर देखिन्छ, तर त्यसको भित्रीभागमा पानी रहेछ, त्यो पानीलाई उपयोग गरेर नागराज यादवको नेतृत्वमा खोला किनारमा सामूहिक तरकारी र फलफूल खेति गरिएको छ, किसानको खेतमा सिञ्चाइ भएको छ, खानेपानीको समस्या समाधान भएको छ, दिगो कृषि प्रणाली शुरु भएको छ, यो अभ्यासलाई देशका अन्य ठाउँमा पनि अनुकरण गर्न सकिन्छ”, उनले भने ।

यसका लागि नाष्टले विज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत सङ्घसंस्थासँग सहकार्यको थालनी गरेको उपकुलपति श्रेष्ठले जानकारी दिए । उनले त्यस्ता संस्थाको कामलाई सघाउन यस वर्ष १८ संस्थासँग सहकार्य गरेको र आगामी वर्ष बढाउँदै जाने कार्यक्रम रहेको बताए । नाष्टले विज्ञान र प्रविधितर्फ आकर्षण बढाउनका लागि युवा वैज्ञानिक मञ्च र महिला वैज्ञानिक मञ्चको गठन गरी कार्यक्रम पनि सञ्चालन गर्न थालेको जनाएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत जनशक्तिमा नयाँ प्रविधिको अवलम्बनका लागि परम्परागत सोंच तथा शैलीमा परिवर्तन ल्याउन जरुरी भएको बताउँदै यस क्षेत्रका अनुभवी विज्ञको अग्रसरतामा स्थापना भएको स्मार्ट वास सोलुसन्सले सरकार र नागरिकका बीचमा समन्वय तथा सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए ।

खानेपानी, ढल निकास र प्रशोधनमा भएका अत्याधुनिक प्रविधिलाई नेपालमा भित्र्याउन वृहद् अन्तर्राष्ट्रिय प्रदर्शनी आवश्यकता रहेको उनले बताए । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले देशमा खानेपानीको पहुँच ८९ प्रतिशत जनतासमक्ष पुगेको भए पनि अझै गुणस्तरीय पानीको वितरण, लैङ्गिक पक्ष, सामाजिक समावेशिता, पानीको कुशल व्यवस्थापन, जलवायु परिवर्तनका नकारात्मक असर, स्मार्ट मिटरिङसहित अत्याधुनिक प्रविधिको प्रयोग, वैकल्पिक स्रोतको उपयोग, स्रोतको संरक्षण र बढ्दो मागको आपूर्ति जस्ता थुप्रै चुनौती रहेका जानकारी दिए ।

सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाष्टका प्राज्ञ डा प्रमोदकुमार झाले सरकारले समृद्धिका १२ सूचक बनाएको र त्यसमा स्वास्थ्य तथा सरसफाइको सूचक पनि रहेको उल्लेख गरे । नेपाल विकाशील राष्ट्रमा स्तरोन्नति हुनका लागि अरु धेरै आर्थिक र सामाजिक क्षेत्रका सूचकमा पनि सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

काठमाडौं विश्वविद्यालयका प्रा. डा. नवराज खतिवडाले खानेपानीका मुहान सुक्दै गएकाले नदी तथा खोलाबाट पम्पिङ गरेर पानी आपूर्ति गर्नेतर्फ सोच्न आग्रह गरे । जस्तोसुकै प्रतिकूल समयमा पनि तीन महिना पानी आपूर्ति गर्न सक्ने भण्डारण क्षमता विकास गरी खानेपानीको सुरक्षा प्रत्याभूत गर्न यस क्षेत्रमा कार्यरत नीति निर्मातालाई उनले सुझाव दिए ।

स्मार्ट वासका अध्यक्ष इञ्जिनीयर रामदीप साहले एक वर्षमा स्मार्ट वाटर म्यानेजमेन्ट, आकाशे पानीको सङ्कलन र व्यवस्थापन, मानव मलमूत्रीय लेदो व्यवस्थापनका क्षेत्रमा राष्ट्रिय सम्मेलन आयोजना गरी सरोकार भएका निकाय तथा नीति निर्माताबीच संवादको थालनी गरेको जानकारी दिए । नीतिगत परिवर्तन र योजना तथा कार्यक्रम सञ्चालनमा सामाञ्जस्य ल्याउन प्रयास गरिएको उनले बताए ।

छोटो समयमा नै संस्था एशिया वाटर काउन्सिलको सदस्य बन्न सफल भएको छ । संस्थाले आगामी वर्षमा केही नगरमा स्मार्ट वाटर म्यानेजमेन्ट र केहीमा ढल व्यवस्थापनको नमूना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ र एकीकृत वाग्मती सभ्यता विकास तथा संरक्षण समितिका कार्यकारी निर्देशक इञ्जिनीयर देवेन्द्र झाले सरसफाइको महत्वमा प्रकाश परेको थियो ।