कृषि

झरीमै कृषिमन्त्री विमला केसी कृषककै दैलामा पुगेपछि कृषक दङ्ग

सुर्खेत । अविरल पानी परिरहेको थियो । हुस्सुले बिहान खुलेकै थिएन । गाडीबाट अगाडिको दृश्य हेर्न चालकलाई पटक पटक ‘वाइपर’ को सहायता लिनुपथ्र्यो । कच्ची र हिलाम्मे आवतजावतको कल्पना नगरिएको बाटाबाट आज बिहान कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी कृषककै दैलामा पुगेपछि सुर्खेत लेकबेंसी नगरपालिका–१० साटाखानीका बासिन्दा दङ्ग परे ।

सरकारका प्रवक्ता एवं मन्त्री कर्णाली प्रदेशसभामा नेकपाका सचेतक सीताकुमारी नेपाली, युवा नेत्री हरिमाया शर्मासहित साटाखानीमा पुगेकी थिइन् । प्रमुख सचेतकसँग कृषिमन्त्री ल्याउन पटक पटक गुहारेका किसानलाई त्यस्तो झरीमा सरकारका मान्छे दैलोमा आउलान् भन्ने पत्यार लागेको थिएन ।

हिमाली जिल्लामा भारी हिमपातसँगै शुक्रबारदेखि मुलुकभरको वर्षाले हवाई तथा स्थलगत यातायात प्रभावित थियो । खराब मौसम भए पनि मन्त्री नै घरदैलामा पुगेपछि स्थानीयवासी निकै खुशी बने र एकैछिन सबै भेला भएर पहिलो पटक दैलामै पुगेका कृषिमन्त्रीलाई स्वागत गरे ।

मन्त्री केसीले शुरुमा देवकी बरालको गायत्री कृषि फार्म अवलोकन गरिन् । विसं २०६८ मा स्थापितसो फार्मको लगानी रु.४३ लाख रहेको व्यवस्थापक दीपेन्द्र चपाईंले बताए । उनले भने, “जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट वार्षिक छ प्रतिशत ब्याजका दरले रु १८ लाख र एउटा अर्को संस्थाको रु पाँच लाख ऋण छ । फार्ममा बाँकी आफ्नै लगानी गरेको छु ।”

होलिस्टिन जातका १४ गाई रहेको उक्त फार्म देखेर मन्त्री केसीले सञ्चालक बराल र व्यवस्थापक चपाइँको उच्च प्रशंसा गरे । मन्त्री केसीले भने, “निकै राम्रो मेहनत गर्नुभएको रहेछ । तपाईं एउटा उदाहरणीय कृषक हो । तपाईं जस्ता व्यावसायिक किसानलाई सरकारले प्रोत्साहन र आवश्यक सहयोग गर्छ ।”

झरीमा मन्त्री केसीले पशुपालक कृषक ताराकेशर लामिछानेको गाई र भैंसीपालन व्यवसायको पनि निरीक्षण गरे । उक्त क्षेत्रका गोठगोठमा पुगेर उनले पशुपालनको व्यवस्थापन, समस्या र चुनौतीको अवस्था लियाले । तरकारी बाली र पशुपालनको सम्भाव्य क्षेत्रको स्थलगत भ्रमण गरेका उनले त्यसलाई तरकारी र दूध उत्पादन क्षेत्रका रुपमा विकास गर्दै लैजाने विश्वास दिलाए । त्यस क्रममा उनले लेकबेंसी नगरपालिका–१० का साटाखानी, साटाफाँट र दुबीचौर बस्ती अवलोकन गरेका थिए ।

दूधको बजारीकरण समस्या

गायत्री कृषि फार्मका व्यवस्थापक चपाईंले लेकबेंसी नगरपालिकाका ८, ९ र १० वडामा पर्ने साटाखानी दूध क्षेत्र भएको जानकारी दिए । “प्रतिदिन एक हजार लिटरभन्दा बढी दूध यहाँ उत्पादन हुन्छ तर बाटो र बजारीकरणको सहज नहुँदा किसान मर्कामा छन्,” व्यवस्थापक चपाईंले भने ।

सोही वडाका पशुपालक कृषक ताराकेशर लामिछानेसमेतले दूध उत्पादनभन्दा बजारीकरणमा समस्या भएको बताए । “पशुपालन व्यवसायबाट उत्पादित दूध र कृषि उपजका वस्तु खपत नहुने हो भने कसरी व्यवसाय गर्ने होला”, चिन्ता प्रकट गर्दै लामिछानेले भने, “बाटो र बजारीकरण नहुनु हाम्रो प्रमुख समस्या हो । यसमा हामीलाई सरकारको सहयोग आवश्यक छ ।”

उनका अनुसार बजार अभावले यहाँका पशुपालक किसानले रु४८–५० मा दूध बेच्नुपर्ने बाध्यता छ । सिर्जनशील सामुदायिक अपाङ्ग कृषि तथा पशुपालन सहकारी लिमिटेडका सदस्य जानकी पुन मगरले कृषिजन्य वस्तुको उत्पादनका लागि सिँचाइको समस्या भएको बताए । कृषिमन्त्री केसीले सिँचाइ व्यवस्थाका निम्ति कृषि क्षेत्र विकास कार्यक्रममार्फत सहयोग गरिने जनाए ।