लुम्बिनी

प्रदेश सरकारको ५ करोड लागतमा कुलो बन्दै

रामपुर । पाल्पाको रामपुर नगरपालिकामा प्रदेश नम्बर ५ सरकारको पहलमा कुलो निर्माण भइरहेको छ । रामपुर – १० का अधिकांश फाँट क्षेत्र सिंचाइ गर्ने कुलो २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण भइरहेको हो ।

बर्दलेफाँट सिंचाइ आयोजनाको विसं २०४९ मा निर्मित कुलो प्रदेश सरकारको आर्थिक तथा सिंचाइ विकास डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोगमा निर्माण भइरहेको कुलो निर्माण उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालले जानकारी दिए । रामपुरको झ्याम्मखोलादेखि एक्लाचौर, राहुडाँडा, मनभागा, सानोगेझा, ठूलोगेझा, गोकर्णे हुँदै बर्दलेसम्मको पाँच किलोमिटर पुनःनिर्माण भइरहेको अध्यक्ष खनालको भनाइ छ ।

गत जेठ २२ मा ठेक्का सम्झौता भएको कुलो गत असार पहिलो हप्तादेखि निर्माण थालिएको समितिले जनाएको छ । प्रदेशनम्बर ५ सरकारले रु. ४ करोड ९३ लाख सहयोग गरेपछि धमाधम निर्माणको काम भएको छ । प्रदेशसभा सदस्य युवराज खनालले रामपुर उपत्यका धेरै कृषि उपज उत्पादन हुने क्षेत्र भए पनि पानीको अभावले कृषकलाई समस्या परेकाले कुलो निर्माणमा सहयोग जुटाइएको जानकारी दिए ।

गेझाक्षेत्रको १०५ हेक्टर जमीनमा सिंचाइ गर्ने कुलो निर्माण आगामी वैशाखमा सम्पन्न गर्ने योजना रहेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष खनालको भनाइ छ । राहुडाँडा, एक्लाचौर, मनभागा, सानो गेझा, ठूलोगेझा, गोकर्णे र बर्दलेका फाँटका खेत सिंचाइ गर्ने कुलो निर्माण भइरहँदा कृषक खुशी छन् । हिउँद तथा वर्षात्मा पटक पटक पहिरो गएर धान रोप्न तथा विभिन्न तरकारी बाली लगाउन र सिंचाइ गर्न समस्या भोग्दै आएका कृषकलाई अब भने सहज हुने वडाध्यक्ष लीलबहादुर गाहाको धारणा छ ।