राजनीति

पर्यटन आर्थिक विकासको मूख्य इन्जिन होः बरिष्ठ नेता नेपाल

भीमदत्तनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् । प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरे ।

“प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ”, उनले भने, “जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।” जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पु¥याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । “पर्यटन आर्थिक विकासको इन्जिन हो”, उनले भने, “यसलाई गतिशील बनाउन आवश्यक छ ।”

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए । “आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ”, उनले भने, “छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।”