पत्रपत्रिका

तीन–दिन देखी लगातारको हिमपातले हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित

काठमाडौं । तीन दिनयता पटक–पटक भएको हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण ती क्षेत्रमा यातायात सेवा र विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ ।

अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन्। हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्। केही रउसे हिउँ खेल्न, हिउँसँग सेल्फी हान्न तराईदेखि पहाड उक्लेका छन् । हिमाली तथा उच्चपहाडी क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न सुरु भएको हो ।

ओखलढुंगा संवाददाता शेरबहादुर जेरोका अनुसार हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा–काठमाडौं चल्ने यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझबाट परेको हिमपातले यातायात अवरुद्ध भएको हो। सोलुखुम्बुबाट ओखलढुंगा हुँदै काठमाडौं जाने कुनै पनि सवारी चल्न नसकेको सिद्धिचरण नगरपालिका–६ ठाडेका मेखबहादुर मगरले जानकारी दिए ।

सोलुखुम्बुको पत्ताले, ओखलढुंगाको धाप, ठाडे, टोड्के, देउरालीसम्म सडकमा बाक्लो हिउँ जमेको मगरको भनाइ छ। सडकमा जमेको हिउँ पन्छाई सडक पुनः सञ्चालन गर्न एस्काभेटर पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बेलीडाँडा र ओखलढुंगाबाट सोलुखुम्बुका लागि बिहान छुटेका सवारीसाधन बिब्ल्याँटे र चित्रेमा रोकिएका छन् ।

सडकमा जमेको हिउँ चाँडै पन्छाई सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार साँझदेखि आधा रातसम्म वर्षासँगै हिमपात भयो । खिजिदेम्बा गाउँपालिकाको पत्ताले, रावादोलु, भुसिंगा, खिजिफँलाटे बजार चल्ले सवारीसाधनसमेत हिमपातका कारण अवरुद्ध भएको खिजिदेम्बाका कमलप्रसाद न्यौपानेले बताए ।

हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन् । मौसममा आएको परिवर्तनसँगै ओखलढुंगाका अधिकांश उच्चभूभागमा हिमपात भएको छ। हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै जिल्लाको जन्तरखानी, पात्ले, खिजिदेम्बा, लामजुरा, धाप, देम्बाडाँडा, श्रीचौरको माथिल्लो क्षेत्र र सोलुखुम्बुको पत्ताले, पिके क्षेत्रमा भीषण हिमपात भएको हो।

हिमपातसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ । जन्तरखानीको ठाडे, धापलगायत उच्चभेगमा बाक्लो हिमपात भएको ग्रेस एकेडेमीका अध्यक्ष हरि मगरले बताए । मगरका अनुसार हिमपातले चिसो बढेसँगै विशेषगरी विद्यार्थी, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बस्तुभाउ स्याहारमा समेत समस्या भएको उनको भनाइ छ ।

गोठमा गाईभैंसी र भेडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्याएको झनै समस्या भएको मगरले बताए । समयमै वर्षासँगै हिमपात भएकाले बाली सप्रने भन्दै किसानहरु भने हर्षित भएका छन् । सडक सुविधा पुगेको हिमपात भएको क्षेत्रमा बिहानैदेखि हिउँ खेल्न जानेहरू बढेका छन् । शनिबार बिदाका दिन भएकाले पनि हिउँमा रमाउन जानेहरूको संख्या धेरै रहेको थियो ।

रामेछाप संवाददाता मञ्जु उप्रेतीका अनुसार रामेछाप र दोलखाको धार्मिक तथा पर्यटकीयस्थल शैलुङ डाँडा र वरपरको क्षेत्र सेताम्य भएको छ। बिहीबारदेखि परेको वर्षासँगै रामेछापको उच्चपहाडी क्षेत्रमा हिमपात सुरु भएको हो ।

हिमपातका कारण शैलुङसँगै ठोसे, चुचुरे, ढुंग्रे, मेलुङ क्षेत्रको जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । लगातार दुई पटक हिउँ परेकाले ये क्षेत्रका बासिन्दा घरबाहिर निस्किन सकेको छैनन् । बाक्लो हिमपातले गाईबस्तुलाई समेत प्रभावित पारेको छ।

सबैजना घरभित्रै आगो तापेर बसेको शैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले बताए । ‘बाहिर निस्केर केही काम गर्न सकिएको छैन,’ उनले भने, ‘हिउँले धाराको पानी जमेकोले पानीको समस्यासमेत भएको छ।’ पानी जमेपछि भाडोमा हिउँ तताएर प्रयोग गर्नुपरेको उनको भनाइ छ ।

शैलुङ डाँडा पूरै हिउँले ढाकिएको छ भने तापक्रम माइनसमा झरेको छ । शैलुङका थुम्काहरू हिउँले ढाकिएपछि हिउँ खेल्न चाहने रउसेको घुइँचो लगेको छ । यतिबेला शैलुङ डाँडा वरपर हिउँका विभिन्न आकृति बनाएर रमाउने, हिउँमा बसेर सेल्फी खिच्ने, हिउँको डल्लोले एक–अर्कालाई हिर्काएर युवकयुवतीहरू रमाउने गरेको दृश्य बग्रेल्ती देख्न सकिने स्थानीय दावा शेर्पाले बताए ।

पहाडमा हिमपात, तराईमा असिनापानी

पहाडमा हिमपात भइरहँदा सुदूरपश्चिमको तराईमा असिनापानी परेको छ। शनिबार बेलुकी कैलालीको अत्तरिया, गेटालगायत क्षेत्रमा असिनापानी परेको हो। लगातारको हिमपातले पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेका बेला तराईमा असिनापानी पर्नाले किसानहरू मर्कामा परेका छन्।

२५ वर्षयताकै बढी हिमपात भएको सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न सडक, ग्रामीणबस्तीमा शनिबार तेस्रो दिनसम्म हिउँ पग्लेको छैन। बाक्लो हिउँ जमेका कारण बाजुराको कोल्टी जोड्ने सडक अझै अवरुद्ध छ भने पहाडी जिल्लाको सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको छ। हिउँले अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।

यता, डोजरले हिउँ पन्छाएर भीमदत्त पन्त राजमार्ग, बैतडीको अनार खोलीलगायत सडकमा भने अवरुद्ध यातायात सञ्चालन गरिएको छ। ‘हिउँ पन्छाएर यातायात सुरु गरेका छौं,’ प्रदेश ट्राफिक कार्यालयका प्रमुख लोकेन्द्र श्रेष्ठले भने, ‘तर बाक्लो हिमपात भएकाले बाजुरामा भने अझै सडक खुलाउन सकिएको छैन।’

मंसिरको अन्तिम साता पहिलो पटक हिमपात भएको सुदूरपश्चिमका सातवटै जिल्लामा बिहीबार दोस्रो पटक हिमपात भएको थियो। २५ वर्षयताकै सबैभन्दा बढी हिमपात भएकाले हिमाली तथा उच्चपहाडी भूभागमा तीन फिटसम्म हिमपात भएको थियो भने हिउँ नपर्ने डोटीको सदरमुकाम सिलगढीलगायत ठाउँमा पनि २५ वर्षपछि हिमपात भएको थियो।

बैतडीको अनारखोली, खोडपे, श्रीभावरमा बाक्लो हिउँका कारण दशरथचन्द राजमार्ग अवरुद्ध भएको थियो। डोजरले हिउँ पन्छाएर यातायात सञ्चालन भएको बैतडीका प्रहरी प्रमुख दिल्ली पाण्डेले बताए। खोड्पेका मोहन बिष्टका अनसार हिमपातका कारण स्थानीयको दैनिक गर्ने कामसमेत प्रभावित भएको छ।

डडेल्धुरा संवाददाता पुष्कर भण्डारीका अनुसार डडेल्धुरामा दुई दिनदेखि परेको हिमपातले अवरुद्ध सडक शनिबार दिउँसो दुई बजे मात्रै खुलेको थियो भने शनिबार बेलुकीदेखि पुनः हिमपात हुन थालेको छ। डडेल्धुरामा २६ वर्षपछि बेंसी क्षेत्रमा पनि हिउँ परेको छ ।

यस्तै बझाङ सदरमुकाम चैनपुर, डोटी सदरमुकाम सिलगढी, बाजुरालगायत जिल्लामा अत्यधिक हिमपात भएको छ। हिमपातका कारण सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा मोबाइल फोनको नेटवर्क समयसमयमा आउने र जाने गर्नाले सञ्चारसेवा प्रभावित भएको छ।

डोटीको बेंसी क्षेत्र रहेको बडिकेदार गाउँपालिकाको सदरमुकाम खडेउलीमा पनि यसपालि भारी हिमपात भएको स्थानीय चक्र मल्लले बताए । ‘अहिलेसम्म यहाँ हिमपात भएको देखिएको थिएन,’ उनले भने, ‘यसवर्ष भने खडेउली बजारमै हिमपात भएको देख्न पाइयो।’

यस्तै, कैलालीका विभिन्न स्थानमा परेको असिनापानीले किसान मर्कामा परेका छन्। असिनापानीले किसानको बालीनाली नष्ट पार्नुका साथै चिसो बढेको छ। ‘हाम्रो क्षेत्रमा आज बेलुकी भीषण असिनापानी प¥यो,’ अत्तरिया बजारका पिआर चटौतले भने, ‘असिनापानीसँगै लगातार वर्षा भइरहेको छ।’ अत्यधिक वर्षा र असिनाले गर्दा चिसो बढेको उनले बताए।

कर्णालीमा चिसो कायमै

सुर्खेतको वीरेन्द्रनगर संवाददाता गणेश विशुका अनुसार शनिबार हिमपात र वर्षा नभए पनि कर्णालीका जिल्लामा चिसो भने कम हुन सकेको छैन । पश्चिमी वायुको प्रभावले शुक्रबार पश्चिम नेपालमा हिमपात र वर्षा भएसँगै चिसो निकै बढेको थियो । शुक्रबार आकास गमक्कै हुँदा घामसमेत झुल्केका थिएनन्। शनिबार हल्काफुल्का घाम देखिए पनि चिसो भने उस्तै थियो ।

यो क्षेत्रमा बेतोढसँग हिमाली सेरेटो चलिरहेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबार चहलपहल निकै कम थियो । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शुक्रबार माइनस सात डिग्री सेल्सियस तापक्रम पुगेकोमा शनिबार अझ झरेर माइनस आठ डिग्री सेल्सियससम्म पुगेको थियो ।

जल तथा मौसम विज्ञान कार्यालयका कार्यालय प्रमुख विनोद पराजुलीका अनुसार पश्चिमबाट आएको चिसो वायु बिस्तारै पूर्वतिर गइरहेकोले आइतबारदेखि कर्णालीमा चिसो कम हुँदै जानेछ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा १५ मिलिलिटर पानी परेको मौसम विज्ञान कार्यालयले जनाएको छ ।

चिसो नघट्दा कर्णालीको जनजीवन सामान्य बन्न सकेको छैन। कर्णालीका हुम्ला, डोल्पा, मुगुलगायत हिमाली र उच्चपहाडी क्षेत्रमा हिउँ पूरै पग्लिएको छैन । ‘हिमाली क्षेत्रको हिउँ नपग्लिँदा धेरै चिसो छ,’ हुम्लाका रविन भण्डारीले भने, ‘चिसो नघट्दा दैनिक कामकाज प्रभावित भएका छन् ।’ हिमाली क्षेत्रमा छिनछिनमा कुहिरो र बादल लाग्ने घट्ने हुँदा कर्णालीको हवाई सेवा नियमित हुन सकेको छैन ।

                 

                                                                                              नागरिक दैनिकबाट लिएको