पु.समाचार

नेताहरुले नेविसंघलाई नेतृत्वविहीन राखेको भन्दै अधिवेशन गराउन मागसहित गरे भेला

काठमाडौ । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको याट्खा बसन्तपुरस्थित निवास संस्थापन इतरपक्षका विद्यार्थी नेताहरु भेला भएका हुन् । भेलामा नेविसंघका पौडेल र सिटौला पक्षका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । उनले विद्यार्थीहरुलाई अनौपचारिक रुपमा सम्बोधन समेत गरेका थिए । 

नेविसंघको आगामी रणनीति र पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफलका निम्ति भेलाको आयोजना गरिएको मनोजमणि आचार्यले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै जोशीले पार्टी भित्रको वर्तमान अवस्था,कम्युनिस्टको सरकारले लोकतान्त्रिक व्यवस्था र जनताको भावनामाथि प्रहार गरिरहेको अवस्थामा एकजुट भएर आन्तरिक र बाह्य लोकतन्त्रलाई मज्बुत बनाउन लाग्न ,पार्टीलाई सशक्त र चुनौतीको सामना गर्न सक्ने, भावनात्मक एकताबद्ध र जनतालाई भविष्यको निश्चिन्तता दिनसक्ने पार्टी बनाउने अभियानमा लाग्न समेत विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए ।

भेला आगामी जिल्ला सभापति सम्मेलन सफलताका निम्ति लाग्न र विद्यार्थी एकतालाई बलियो बनाउन छलफल भएको सहभागीले बताए ।

भेलामा काङ्ग्रेस नेता जोशी सहित, पूर्व अध्यक्ष महेन्द्र शर्मा विद्यार्थी संघका पूर्वमहामन्त्रीहरु मनोजमणि आचार्य, गजेन्द्र कार्की, प्रतिमा गौतम, कुन्दनराज काफ्ले लगायत पूर्व उपाध्यक्षहरु क्षितिज भण्डारी, डिल्लीराम सुवेदी, नवीन राई, सागर परियार पूर्वसहमहामन्त्री, पूर्व कोषाध्यक्ष, पूर्व केन्द्रीय सदसहरुको उपस्थिति रहेको विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी दिए ।

नेविसंघ पछिल्लो समय नेतृत्वबिहीन देखिएको छ भने पार्टीमा सभापति शेरबहादुर देउवाको बहुमतद्वारा गरिएको पछिल्लो निर्णयले बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला पक्ष केन्द्रीय समिति बैठक बहिस्कारको अवस्थामा नै देखिएको छ ।