समाचार

अधेरी गुफाको प्रवद्धनमा दौड प्रतियोगिता

सुर्खेत । वीरेन्द्रनगर–९ स्थित अधेरी गुफाको प्रवद्र्धन गर्ने उद्देश्यले दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत ‘यसपाली घुमौँ कर्णाली’ नारालाई सार्थक बनाउन वीरेन्द्रनगर ९ नं वडा कार्यालयले आज काँक्रेविहारदेखि गुफासम्म सात किमी दौड आयोजना गरेको हो ।

दौडमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढा, मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धर, वीरेन्द्रनगरका प्रमुख देवकुमार सुवेदी, वडाध्यक्ष सुरेश मानन्धरसहित ४५ जना प्रतियोगी हुनुहुन्थ्यो । प्रतियोगितामा प्रथम स्थान डिलबहादुर बुढा, द्वितीय स्थान धीरेन्द्र भण्डारी र तृतीय स्थान अमृत बुढाले हासिल गरेका थिए ।

विजयीलाई मन्त्री बुढा, मुख्य न्यायाधिवक्ता मानन्धर तथा नगरप्रमुख सुवेदीले संयुक्तरुपमा पुरस्कार र प्रमाणपत्र प्रदान गरे । वडा नं ९ का अध्यक्ष मानरन्धरले सुर्खेत उपत्यकाभित्र रहेको एकमात्र गुफालाई चिनाउन दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

ऐतिहासिक पर्यटकीयस्थल काँक्रेविहार आउने पर्यटकलाई अधेरी गुफामा ल्याउन वडा कार्यालयले योजना बनाइरहेको उहाँको भनाइ छ । गुफामा विभिन्न थरीका प्राचीन मूर्ति देख्न सकिन्छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढाले प्रदेश राजधानीको पर्यटन क्षेत्रको विकासमा मन्त्रालयले उच्च महत्व दिएको बताए ।

“पर्यटकीय स्थानको भौतिक विकाससँगै अतिथि सत्कार शैली, ग्रामीण पर्यटनको योजना बनाउन ध्यान दिनुपर्छ”, उनले भने, “प्रदेश सरकार नजिकै भएको फाइदा वीरेन्द्रनगरले लिन सक्नुपर्दछ, सरकार यहाँको पर्यटन विकासमा सकारात्मक छ ।” नगरप्रमुख सुवेदीले नगरपालिकाले पर्यटकीय नक्सशा र एक वडामा कम्तीमा एउटा पर्यटकीय गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएको जानकारी दिए।