समाचार

साताको साहित्य पुरस्कार सीता तुम्खेवाको ‘वीर्यको बतास’लाई

काठमाडौं । कवियत्री सीता तुम्खेवा.को कविता ‘वीर्यको बतास’ लाई  यसवर्षको साताको साहित्य पुरस्कार प्रदान गरिएको छ । केही साता अगाडि घोषणा गरिएको पुरस्कार शनिबार राजधानीको पर्यटन बोर्डमा एक समारोहका बीच सीता तुम्खेवालाई पुरस्कार अर्पण गरियो । 

पुरस्कृत लेखिकाले पुरस्कार स्वरुप ताम्रपत्र र नगद बीसहजार प्राप्त गरेकी थिइन् । साताको साहित्य डट कमले एक विज्ञप्ति प्रकाशित गरी उक्त पुरस्कारको घोषणा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई उर्जा थपिरहेको उल्लेख गरे । 

विज्ञप्तिमा गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म ‘साताको साहित्य डट कम’ मा प्रकाशित भएका रचनाहरू मध्येबाट उत्कृष्ट तीन रचनाहरू एक साताअघि सार्वजनिक गरिएकोमा सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई पुरस्कृत गरिने निर्णय गरेको जनाइएको छ । 

अन्य दुई उत्कृष्ट रचनाहरूमा गीता पुडासैनीको कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए । आठ वर्ष अघिदेखि अष्ट्रेलिया सिड्नीबाट प्रदान गरिंदै आएको साताको साहित्य पुरस्कार यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरूले प्राप्त गरेका छन् । 

साताको साहित्य पुरस्कारको प्रायोजन हरेक वर्ष इनोभेटिभ एसोसिएट्सले गर्दै आएको छ ।