शिक्षा

अग्निप्रसाद सापकोटाद्वारा विद्यालय भवन हस्तान्तरण

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित श्री कृष्णरत्न गङ्गा नमूना माविको नवनिर्मित सुविधा सम्पन्न भवन आज हस्तान्तरण गरिएको छ । विद्यालयको ७३ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले विद्यालय व्यवस्थापन समितिलाई सो भवन हस्तान्तरण गरेका छन् ।

एशियाली विकास बैंक (एडिबी)को रु १० करोड ५० लाखको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका चार वटा भवनमा १४ कोठे छात्रावाससहित ५० कोठा रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले जनाएको छ ।

विसं २००४ मा स्थापित उक्त विद्यालयमा एक हजार ३०० विद्यार्थी अध्यनरत छन् भने ६६ शिक्षक शिक्षिका कार्यरत छन् । सो अवसरमा सांसद सापकोटा र प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा झण्डै छ दशकदेखि साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत साहित्यकार एवं पत्रकार राम केसी ‘चौतारे’ लाई सम्मान गरेको छ । त्यस्तै पत्रकार सुरेश कसजु, १३ औँ साफ गेममा स्वर्ण पदक विजेता फुटबलका विकेश कुथु, जुडोकी देवीका खड्का, तेक्वान्दोकी कुसुम श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरियो ।

प्रधानाध्यापक ध्रुवलाल श्रेष्ठले गत वर्षदेखि प्रदेश ३ सरकारको सहयोगमा क्लिनिकसहित स्टाफ नर्सको व्यवस्था हुनुका साथै नमूना मावि सञ्चालनार्थ रु ५० लाख बजेटसमेत विनियोजन भएको जानकारी दिए ।