स्वास्थ्य

स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको छ : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य नीति चाँडो ल्याइने गृहकार्य भइरहेको बताएका छन् । काठमाडौँ महानगरपालिका–१४, ग्रिन लन्स एकेडमीको २६ औँ वार्षिकोत्सवको शुभारम्भ गर्दै उनले विद्यालय आसपास क्षेत्रमा सूर्ति तथा मदिराजन्य वस्तु बिक्री वितरण गर्न नपाइने नियमसहितको स्वास्थ्य नीति ल्याइने बताए ।

मन्त्री ढकालले लामो अध्ययनपछि हालै ल्याइएको शिक्षा नीतिमा विद्यालयलाई क्षमतावान बनाउन प्राथमिकता दिएको उल्लेख गर्दै निजी विद्यालयलाई प्रोत्साहन गरी सरकारी विद्यालयलाई प्रतिस्पर्धात्मक बनाइने बताए ।

कामपा १४ का वडाध्यक्ष शोभा सापकोटाले विद्यालयले पाठ्यक्रमका अतिरिक्त अन्य क्रियाकलापमा पनि विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिइन् । विद्यालयका अध्यक्ष मोहनकुमार बस्नेतले विद्यालयले शैक्षिक गतिविधिका साथै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिरहेको जानकारी दिए ।