प्रदेश 2

सर्लाहीका युवाले च्याउको बीउ बेचेरै मासिक एक लाख आम्दानी गर्दै

हरिवन । सर्लाही वाग्मतीका एक युवाले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनले च्याउको बीउ बिक्री गरेर मासिक रु एक लाख २० हजार आम्दानी गर्छन् ।

दुई वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उद्यमी चौलागाईँले दुई महिनादेखि आफैँ च्याउको बीउ उत्पादन गर्न शुरुआत गरेका छन् । २५० ग्रामको दैनिक एक हजार कन्य च्याउको बीउका प्याकेट उत्पादन गरिरहेको उहाँले जानकारी दिए । उनका अनुसार यसअघि च्याउको बीउ लिनका लागि हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा यहाँबाट धाउनुपथ्र्यो । 

अहिले वाग्मतीमै च्याउको बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिकरुपमा च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ । उहाँले अहिले करिव रु ३० लाखमा च्याउ उत्पादन गर्ने उपकरण किन्नुभएको छ । उनले भने “ म दैनिक १ हजार च्याउको बीउको प्याकेट उत्पादन गर्छु ।” स्थानीय बजारमा पनि च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न खासै बजारको समस्या नभएको उहाँकोे कथन रहेको छ । रु ४० रुपैयाँका दरले प्रतिप्याकेट स्थानीय कृषकलगायत सिन्धुली, रौतहट, महोतरीका किसान र कृषि ज्ञानकेन्द्र सर्लाहीलाई बीउ बिक्री गरिरहेको उनी बताउछन् ।

उनले च्याउको बीउ उत्पादन गर्ने काममा स्थानीय तीन जना युवालाई रोजगारी दिएका छन् । यही व्यवसायको कमाइबाट चार कठ्ठा जमिन जोडि सकेका छन् । अहिले उनले कृषि फार्म नै दर्ता गरेर च्याउ र च्याउको बीउ उत्पादन गर्दै आइरहेका छन् । स्वदेशमै केही गरौ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेको जानकारी दिए । खासगरी चिसो मौसममा च्याउको खेती हुने गर्छ । उनले अझ बढी फाइदा लिनका लागि बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाई राख्न इयर कन्डिसनसमेत जडान गरिएको बताए ।