राजनीति

सीमा विवाद भारतसित तथ्य र प्रमाणका आधारमा छिनोफानो हुन्छ : वरिष्ठ नेता नेपाल

भीमदत्तनगर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताएका छन् । भ्रमण वर्ष–२०२० का अवसरमा आज कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको बताए ।

“पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आर्कषित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन”, उनले भने, “एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।”

नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्छ भने । “सन् २०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण वर्ष मनाएका थियौँ”, उनले भने, “छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटक भित्रिन सक्छन् ।”

नेता नेपालले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताए ।

सुदूरपश्चिम विकासको मूलधारमा आउन सकेन
त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भए पनि विकासको मूलधारमा आउन नसकेको बताए ।

“दोधारा चादँनीको सुख्खा बन्दरगाहदेखि पश्चिम सेती परियोजनाजस्ता यहाँका राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्”, उनले भने, “अब प्रदेशको विकासका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ ।”

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

“आन्तरिक र बाह्य पर्यटक भित्र्याउनु हाम्रो जिम्मेवारी हो”, उनले भने, “धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन तथा दार्चुलाको तिंकर र बझाङको उरै नाका सञ्चालनका लागि बहस र छलफलमा चलाउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले पश्चिमी नाका गड्डाचौकीलाई अन्तरराष्ट्रिय व्यापारिक नाका र दोधारा चादँनीमा सुख्खा बन्दरगाह बनाउने विषय अघि बढेको बताए ।

“सुख्खाबन्दरगाहलाई बेदकोटको दैजी औद्योगिक क्षेत्रसित जोडेर विशेष आर्थिक क्षेत्र विकास गर्ने विषयमा पनि हामी छलफलमा छौँ”, उनले भने, “महाकाली लोकमार्गदेखि यहाँका अन्य सडक निर्माण पनि अघि बढिरहेका छन् ।”

अर्का प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले सरकारले सुदूरपश्चिमका पर्यटकीयस्थललाई पर्यटकको गन्तव्य स्थलमा नराखेर उपेक्षा गरेको बताए ।

“सुदूरपश्चिमको सुन्दरतालाई हत्केलाले छेकेर अब छेकिन्न”, उनले भने, “यहाँको विकास निर्माणमा पनि प्रदेश सरकारको ध्यान जाओस् ।”

साग पदक विजेतालाई सम्मान

सोही कार्यक्रममा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा महिला कुस्तीतर्फ काष्य पदक विजेता मनिशा सिंह, महिला कबड्डी टिममा सहभागी खेलाडीद्वय जयन्ती बडू र गङ्गा धामीलाई नगदसहित सम्मान गरिएको छ ।

बेदकोट नगरपालिकाका अनुसार सागमा रजत विजेतालाई रु ३० हजार र काष्य पदक विजेता यहाँका खेलाडीलाई रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।

त्यसैगरी साग प्रतियोगितामा पदक ल्याउन प्रशिक्षणतर्फ खटिनुभएका कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट, सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दलाई पनि सम्मान गरिएको छ ।