समाचार

डा. धीरेन्द्र साहित्य पुरस्कार डा. सुरेन्द्र र सलहेस पुरस्कार मैथिल समाज बुटवललाई

जनकपुरधाम । यस वर्षको डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार साहित्यकार डा. सुरेन्द्र लाभ र सलहेस संस्कृति पुरस्कार मैथिल समाज नेपाल बुटवललाई प्रदान गरिएको छ । मैथिली विकास कोषद्वारा प्रदान गरिएको सो पुरस्कारमा जनही रु ५१ हजार नगद र कदरपत्र रहेको छ । प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले कोषको १८औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पुरस्कार प्रदान गदै मैथिली भाषाकोे विकासका लागि सबैको पहल आवश्यक रहेको बताए ।

मैथिली भाषाको संस्थागत विकासका सन्दर्भमा प्रदेशसभासमक्ष गहन जिम्मेवारी आएकाले यसको विस्तारमा गम्भीर हुनु जरूरी भएको धारणा उनले राखे । प्रदेश प्रमुख परियारले भाषाको विकासका सवालमा एकले अर्कालाई सराप्ने कार्य नगरी सकारात्मक भई अग्रसर हुनुपर्ने खाँचो  औंल्याए ।

प्रदेशसभा सदस्य रामसरोज यादवले प्रदेश नं २ को सरकारी कामकाजको भाषा मैथिली हुनुपर्दछ भने । प्रदेशसभा सदस्य परमेश्वर साहले संवैधानिक प्रावधानअनुसार प्रदेशमा सबैभन्दा अधिक प्रयोग हुने भाषा सरकारी कामकाजको भाषा हुने व्यवस्थाका सन्दर्भमा घोषणामा द्विविधा अवस्थाको अन्त्य हुनुपर्दछ बताए ।

प्रदेशसभा सदस्य रामआशीष यादव र रामचन्द्र मण्डलले मैथिली भाषालाई जनबोलीका आधारमा सहजीकरण गरी सबैले अपनत्व बोध हुने बनाउनु जरूरी छ भने । साहित्यकार रामभरोस कापडी भ्रमरले प्रदेश सरकार मैथिली भाषाप्रति अनुदार देखिएको बताउँदै मैथिलीप्रति भइरहेको षड्यन्त्रप्रति सजग हुन आग्रह गरे ।

पुरस्कृत स्रष्टा डा लाभले मैथिली भाषालाई सत्तामा स्थापित गराई जनस्तरसम्म पु¥याउने अभियान सञ्चालन हुनुपर्ने विचार व्यक्त गरे । पुरस्कृत संस्थाका अध्यक्ष मुखीलाल चौधरीले बुटवल क्षेत्रमा मैथिली संस्कृतिको संरक्षण र संस्कारलाई जीवन्त राख्न संस्थाले विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकार रमेशरञ्जन झा र श्यामसुन्दर शशिले मैथिली भाषालाई थप सुदृढ बनाउनुपर्छ भने ।