खेलकुद

अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले आज मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका हुन् । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ । 

अघिल्लो खेल चोटका कारण गुमाएका सन्दीपले आज चार ओभर बलिङ गर्दै २६ रन खर्चियो ।  उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए । आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेन । उनले सो ओभरमा १२ रन खर्चियो । तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उनले दुई विकेट लिँदै चार रन मात्र खर्चियो । उनले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काएका थिए ।

आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चियो । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दै छ । सन्दीपको टोली मेलबर्न स्टार्सले आज टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।