पु.समाचार

सडक बालबालिका मुक्त अभियान देशैभरी विस्तार हुन्छ : मन्त्री गुरुङ

दमक । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्थाबारे आज झापाको दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, “ मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ ।”

मन्त्री गुरुङले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सशक्तीकरणका लागि राज्य पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासमा मात्र नभई सरकारले मानवीय सशक्तीकरणमा पनि जुटेको बताए । उनले मानवीय सशक्तीकरणअन्तर्गत प्रदेश नं १ बाट सडक बालबालिका मुक्त पार्न शुरु गरिएको अभियान देशैभरी विस्तार हुने छ भने ।

मन्त्रालयका सचिव चन्द्र घिमिरेले दिगो विकासको लक्ष्य प्राप्तिका लागि मानवीय क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा नगरपालिकाले गर्दै आएका कार्यक्रमका बारेमा जानकारी गराए ।