पु.समाचार

काँग्रेसले गर्यो राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको आज जानकारी दिए ।

यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन् ।

काँग्रेसले निर्वाचनमा प्रदेश नं. २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । उक्त सहमतिअनुसार प्रदेश नं. २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुई/दुई पदमा उम्मेदवारी दिनेछन् ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।