अन्तर्राष्ट्रिय

कमाण्डरको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी

एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।

बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राती पुष्टि गरेको थियो ।

“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार कासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएका हुन् ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए ।