पु.समाचार

कतै भारी हिमपात, त कतै वर्षा भईरहेका बेला यस्तो आयो मौसमको भविष्यवाणी

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताएकी छिन् । “आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् मानन्धरले भन्नुभयो । बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमबार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र अधिकतम तापक्रम नौ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

यसैबिच मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ । हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ । पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मचारी, सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो ।

बुधबार बेलुकीदेखि शुरु भएको हिमपात केही समय परेर रोकिए पनि बिहीबार बिहान ७ बजेदेखि पुनः शुरु भएको र बेलुकी १० बजेसम्म बाक्लो हिमपातले जनजीवन कष्टकार बनेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएको छ भने खानेपानीको समेत अभाव भएको छ । सडकभरि दुई÷तीन फिट हिउँ जमेको छ, पानीको मुहान जमेको छ, बाहिर हिँडडुल गर्नसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, “अत्यधिक चिसो छ, यहाँको तापक्रम माइनस १२ पुगेको छ हिटर र दाउरा बालेर बस्न बध्य भएका छौँ ।”

अहिले मनाङको सबै भागमा हिमपात भएको छ । जिल्लाकै सबैभन्दा तल्लो भाग नासो गाउँपालिकासमेत प्रभावित भएको अध्यक्ष चन्द्र घलेले बताउनुभयो । हिमपातले खेतीपाती राम्रो हुने भए पनि पशुचौपय र मनाव जीवनलाई कष्टकर बनाएको उहाँको भनाइ छ । जिल्लाको तल्लो भाग ताचैगाउँ, नाँचैगाउँ, ओडारगाउँ र धारापानीमा समेत बाक्लो हिमपात परेको छ । नासो–२ का वडाध्यक्ष भीमबहादुर गुरुङका अनुसार अहिले हिमपात रोकिएको छ, बादल खेलिरहेको छ, पुनः हिउँ पर्ने सम्भावना अझै रहेको छ । गाउँघरमा केटाकेटी र बूढाबूढीलाई चिसोले सकस बनाएको उनले बताए ।