समाचार

आज पनि दिनभर मौसम नखुल्नेः बदली र हल्का वर्षाको सम्भावनाः मौसमवीद

काठमाडौं । आजपनि मुलुकभरको मौसम नखुल्ने भएको छ । केहि दिनदेखी आएको मौसमको परिवर्तनले मुलुकभर अत्यधीक चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण आज शनिबारपनि देशैभर मौसम बदली रहने मौसमवीदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश स्थानमा दिउँसो र साँझसम्म पानी पर्नेछ। अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ। पश्चिमका केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका केही स्थानमा हल्का पानी परिरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेकाले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पश्चिमी वायुको असरका कारण आइतबारसम्मै मौसम बदली हुने महाशाखाले जनाएको छ । आइबार साँझदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन्।