अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा आगलागीमा परी बेपत्ता २८ जना बारे गम्भीर चासो

एजेन्सी । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो राखिएको अधिकारीले बताएका छन् । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरूको खोजीका साथै उद्धार भइरहेको अधिकारीरूले जानकारी दिएका छन् ।

भिक्टोरियाका मुख्यमन्त्री डानेल अन्ड्रेसले भन्नुभयो, “बेपत्ता भएकालाई जीवितै उद्धार तथा सुरक्षाका लागि धेरै चिन्ता लिएका छौँ ।”आगलागीका कारण उत्पन्न सङ्कट बढ्दै जाँदा बेपत्ताको सङ्ख्या पनि तलमाथि पर्न सक्ने उनले बताए ।

अष्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिस भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । तटीय सहरमा धुवाँ र खरानीले घरहरू ढाकिएकोले मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म कम्तीमा १२ पुगेको पुष्टि भएको छ ।

डढेलो ’नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सीयस रहेको छ । सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थान डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्कालीनस्तरका दर्जनौँ डढेलो लागेको अधिकारीले जनाएका छन् ।