अन्तर्राष्ट्रिय

तीन हप्तामा करिब डेढ लाख बालबालिका इदलिबबाट विस्थापितः यूनिसेफ

एजेन्सी । सिरियामा विगत तीन हप्तामा करिब डेढ लाख बालबालिका विस्थापित भएका छन् । सिरियाको इदलिब र वरपरका क्षेत्रमा जारी हिंसाका कारण एक लाख ४० हजारभन्दा बढी बालबालिका विस्थापित भएका संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)  ले शुक्रबार जानकारी गराएको छ । “द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रबाट अझै पनि दैनिक चार हजार ५०० का दरले बालबालिकाहरू विस्थापित भइरहेका छन् ।

” यूनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले बताए । यूनिसेफका अनुसार इदलिब र वरपरका क्षेत्रमा सरकार र इदलिबमा रहेका स्थानीय विपक्षी समूहबीच झडप हुँदा उनीहरू भाग्नुपर्ने बाध्यता यो नयाँ भने होइन । त्यहाँका बालबालिका पटक पटक सरकार र विपक्षी समूहबीच भएका द्वन्द्वमा उक्त क्षेत्र छोडेर आफ्ना अभिभावकसहित सुरक्षित क्षेत्रतर्फ भाग्ने गरेका छन् ।

विगत दुई हप्ताको अवधिमा दुई लाख ३५ हजारभन्दा बढी नागरिक इललिब क्षेत्रबाट बाहिरिएका राष्ट्रसंघले बताएको थियो । रूसको समर्थनप्राप्त सिरियाली राष्ट्रपति बसर अल असद पक्षको सुरक्षाकर्मीले विपक्षी समूहको प्रभाव रहेको इदलिब र वरपरका क्षेत्र सरकारको नियन्त्रणमा फर्काउन अन्तिम तथा निर्णायक कारबाही भन्दै मध्य डिसेम्बरदेखि हवाई आक्रमण सुरू गरेको थियो ।

असदको सत्तालाई रूस र इरानले हतियार तथा सैन्य सहयोग दिँदै आएको बताउने गरिएको छ । विश्व समुदायले इदलिबमा पिवक्षी समूहमाथि सरकारद्वारा गरिएका कारबाहीप्रति गम्भीर आलोचनापछि टर्की, रूस र इरानको पहलमा गत अगस्टमा भएको युद्धविरामको सहमतिलाई सिरियाली सत्ताधारी दलले भङ्ग गरेको राष्ट्रसंघले जनाएको छ ।

डिसेम्बर १९ देखि सुरू भएको पछिल्लो कारबाहीबाट सशस्त्र विद्रोहीको नियन्त्रणमा रहेका दर्जनौँ नगर र ग्रामिण क्षेत्रलाई नियन्त्रणमा लिन सफल भएका् छ भने झडपमा सयौँ सिरियाली नागरिकले ज्यान गुमाएका छन् ।